प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह
काठमाडौं । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरेर आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू छलफल गरेकी हुन् ।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेको जानकारी दिएका छन् ।
उनले भने, ‘विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौ ।’ उनले सबैसँग संवादबाटै समस्याको समाधान गर्न सरकारले चाहेको बताए । अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि आन्दोलनरत पक्षलाई आग्रह गरे ।
