`

प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरेर आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू छलफल गरेकी हुन् ।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौ ।’ उनले सबैसँग संवादबाटै समस्याको समाधान गर्न सरकारले चाहेको बताए । अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि आन्दोलनरत पक्षलाई आग्रह गरे ।

बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूबीच के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित र गृहसचिवसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरेकी छन् ।

आज (शनिबार) बिहान करिब दुई घण्टा चलेको बैठकमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको जनाइएको छ । वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सुक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौं । संवादबाटै समस्याको समाधान चाहन्छौँ ।’ अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरे ।

राष्ट्रपति पौडेल चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफलमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । अहिले छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छ । छलफलमा जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरण लगायत विषयमा केन्द्रित रहेको जनाइएको छ ।

 

जेनजीको विरोधपछि शीतल निवास परिसरको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधिबारे विवाद भएपछि शीतलनिवास बाहिर जेनजी प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

विवाद बढेपछि राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित भएको छ । अब सोमबार दिउसो ३ बजे राष्ट्रपति र जेनजी प्रतिनिधिबिच छलफल हुने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

शीतलनिबास परिसरमा जेनजीहरु नाराबाजीमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तीन वटै सुरक्षा निकायहरूसँग गृहमन्त्रीको दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे गृहमन्त्री अर्यालले जानकारी लिएका छन् । छलफल मुख्यगरी आज माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रर्दशनमा केन्द्रीत रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । आज हुने भनिएको प्रर्दशन, त्यसको सुरक्षा चुनौती, केही नेताहरूले दिएको अभिव्यक्ति, देशभर जाहेरी दिने भनि सुरु भएको अभियान र त्यसको सुरक्षा चुनौती लगायत विषयमा छलफल भएको स्रोतले सुनायो ।

मन्त्रालयमा करिब २ घण्टासम्म सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिहरूसँग गृहमन्त्री अर्यालले ब्रिफ्रिङ लिएका थिए । सो क्रममा उनीहरूले बढ्दो सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए । चाडवाड सकिएपछि हुनसक्ने सुरक्षा चुनौती, जेन–जी र अन्य समूहले गर्नसक्ने प्रदर्शन र उत्पन्न हुनसक्ने परिस्थितिबारेमा पनि छलफल भएको सहभागी एक सुरक्षा प्रमुखले बताए ।

जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । यो काउन्टर जाहेरी र त्यसले बढाउन सक्ने सुरक्षा चुनौतीको विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । अर्कोतर्फ नेताहरूले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले पनि सुरक्षामा चुनौती थपिन सक्ने बताइएको छ । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

‘फलानो नेताको अभिव्यक्ति भनेर भन्दा पनि नेताहरूले पछिल्लो समय सार्वजनिक रुपमा बोलेका कुराहरूले पनि सुरक्षा चुनौती बढाउन सक्नेबारे कुराकानी भयो,’ सुरक्षा स्रोतले भन्यो । समसामयिक राजनीति र चुनावी सुरक्षाका बारेमा पनि छलफल भएको गृह स्रोतले बतायो। छठपछि दुर्गा प्रसाईं समूहले गर्ने भनिएको आन्दोलनदेखि विपद्, उद्धारको बारेमा पनि छलफल भएको बताइएको छ ।

कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत । दसैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालले बताए । उनका अनुसार यही असोज ६ गतेदेखि आगामी कात्तिक १० गतेसम्म उक्त सुरक्षा योजना लागू हुनेछ ।
देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार तथा गोलीगठ्ठाको दुरुपयोग एवं विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दी चाडपर्वको समयमा आफ्नो घरबतनमा आउन सक्ने भएकाले उक्त समयमा थप आपराधिक घटना हुनसक्ने जोखिम रहेको सुरक्षा अधिकारी बताउँछन् । कुनै पनि अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागू गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्युआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन गर्नुका साथै १७८ वटा पैदल गस्ती सञ्चालन गरिएको उनले बताए । साथै २० वटा लामो तथा छोटो दूरीका गस्ती समेत परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छभने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरी प्रवक्ता खनाल बताए । उनका अनुसार यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छभने बैंक, वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ ।
आठ विशिष्ट व्यक्तिको सुरक्षा र ३१८ अन्य विभिन्न स्थानको सुरक्षामा पनि प्रहरी परिचालन गरिएको खनालले उल्लेख गरे । सुरक्षा योजना अनुसार प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव र कालोबजारी हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था मिलाइने उनले बताए ।

बालुवाटारको वर्कसपमा दुई जनाको शव भेटियो

काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा दुई जनाको शव भेटिएको छ । जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसको हो भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ । अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् ।

आज बिहान चार घण्टा र साँझ दुई घण्टा आवतजावत गर्न पाइने

काठमाडौं । शान्ति सुरक्षाको नेतृत्व लिएको नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यूको समय घटाएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ ।

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले भनेको छ।

सेनाले भदौं २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कर्फ्यू आदेश रहने जनाएको छ ।

हेर्नुस् सूचना

उपत्यकाकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’ बाट निगरानी

काठमाडौं । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

उनका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ । ‘यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यताका आधारमा सुरक्षा टोली परिचालन भएको छ’, प्रजिअ रिजालले भने ।

अहिले काठमाडौँको माइतीघरमा जेनजी पुस्ताका नाममा केही मानिस भेला भएको जानकारी आएको बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताए ।

प्रवक्ता खनालले भने, ‘हामीले सुरक्षा योजना बनाएर नै परिचालन गरेका छौँ, सबै लाग्ने डिउटी खटाइसकेका छौँ, कमान्ड पोष्ट परिचालन भइसकेको छ ।’ सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेनजी पुस्ताले आज उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको भनेर प्रचार भएपछि उपत्यकामा सुरक्षा निगरानी बढाइएको हो ।

प्रधानमन्त्री देखी सभामुखको निवास वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताको प्रदर्शन सुरु भएसँगै प्रधानमन्त्रीको सरकारी निवास वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहान ९ बजेदेखि प्रधानमन्त्री र प्रधानन्यायाधीश तथा सभामुखको निवास वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज पहिलोपटक संगठित रुपमा जेनजी पुस्ताले सरकारले अराजकता र भ्रष्टाचारको विरोधमा काठमाडौँ सहित देशैभर प्रदर्शन हुँदैछ ।

नेता र उच्च पदस्थ कर्मचारीले गरेको भ्रष्टाचार र सोही भ्रष्टाचारको रकमले उनका छोराछोरीले गरेको मोजमस्ती विरुद्ध सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ता अहिले सडकमा उत्रिएका छन् ।

उनीहरुले इन्डोनेसिया, बंगलादेश र श्रीलंकाको सत्ता पलटलाई उदाहरण दिदै आन्दोलन नेपालमा थालेको घोषणा गरेका कारण सत्ता सञ्चालक, उच्च पदस्थ कर्मचारी लगायतमा मनोवैज्ञानिक त्रास बढेको छ ।