वार्ता असफल भए अफगानिस्तानसँग खुला युद्ध छेडिने पाकिस्तानको चेतावनी
काठमाडौं । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले छलफलबाट समस्या समाधान नभए अफगानिस्तानसँग खुला युद्ध छेडिने बताएका छन् । टर्कीको इस्तानबुलमा शनिबारदेखि दुई देशबीच दोस्रो चरणको वार्ता जारी छ । यो वार्ता सन् २०२१ मा तालिबानले काबुल कब्जा गरेपछिको सबैभन्दा खराब सीमावर्ती लडाइँपछि हिंसामा फर्कनबाट रोक्न पाकिस्तान र अफगानिस्तानले गरेको पछिल्लो प्रयास हो । बीबीसी उर्दुका अनुसार, सियालकोट सहरमा मिडियासँग ख्वाजा आसिफले कतार र टर्कीले धेरै इमानदारीका साथ अफगान तालिबानसँग छलफल चलाइरहेको बताए ।
‘हामीसँग विकल्प छ, यदि कुनै सम्झौता नभए हामीसँग उनीहरूसँग खुला युद्ध छ’, उनले पाकिस्तानबाट टेलिभिजनमा प्रसारित टिप्पणीमा भने, ‘तर, मैले देखेँ कि उनीहरू शान्ति चाहन्छन् ।’ पाकिस्तानी रक्षामन्त्रीले कतारमा वार्ता भएपछि कुनै घटना नघटेको पनि बताए । उनले भने, ‘जुन शर्तहरूमा उनीहरू शान्ति चाहन्छन्, ती बिस्तारै स्पष्ट हुँदै जानेछन् ।’
ख्वाजा आसिफले उनीहरूका सर्त आफूहरूका पक्षमा भए सम्झौता गरिने बताए । पाकिस्तान र अफगानिस्तानबीच सीमामा तनावपछि यसअघि कतारको दोहामा पहिलो चरणको वार्ता भएको थियो । पाकिस्तानी रक्षामन्त्रीले भने, ‘हामी ४० वर्षदेखि अफगानिस्तानका मानिसलाई शरण दिइरहेका छौँ र अहिले पनि ४० लाख वा त्योभन्दा केही कम अफगान यहाँ बसिरहेका छन् । ती मानिससँग हामी दोहामा कुरा गरिरहेका थियौँ, उनीहरू पूरै पाकिस्तानमा हुर्केका छन् ।’ यी दुई देशबीच युद्धविराममा सहमति बनेको छ ।
