लोकतन्त्र खोस्ने प्रयास हुँदैछ : प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै रहेको दावी गरेका छन् । गोरखामा आयोजित कार्यक्रममा प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मुद्दा माओवादीले मात्रै बोक्न सक्ने बताए । ‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ’, प्रचण्डले भने ।
‘अब जेन–जी युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ’, प्रचण्डले भने । प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन’, उनले भने । कार्यक्रममा प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भने, ‘अहिले पनि प्रतिगामी खतरा कायम छ । तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन् । त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ ।’
