`

प्रचण्डको आह्वान : परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपाल निर्माण गरौं

Nepal One HD १० कार्तिक २०८२ १२:३३
प्रमुख खबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न अपिल गरेका छन् । आज छठ पर्वको शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ ।’, प्रचण्डले भने, ‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौँ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रचण्डले मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका छन् । उनले पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने उल्लेख गरे । छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् भन्ने उनले कामना गरे । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *