उदाउँदो सूर्यलाई अर्घ दिँदै मधेसमा छठ सम्पन्न, ‘छठके सनेस’ सुरु
महोत्तरी, ११ कात्तिक । मधेसका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न गरिएको छ। पञ्चमी तिथिदेखि निराहार व्रत बसेका बर्तालुले सप्तमीका दिन बिहान अर्घ दिँदै व्रत सम्पन्न गरेका हुन्।
मिथिला पञ्चाङ्ग र विद्यापति पङ्गअनुसार आज बिहान ६:१२ बजे सूर्योदय हुने उल्लेख भए पनि महोत्तरीमा बादलका कारण सूर्य ढिलो देखिएको बर्तालु देवकला महतोले बताइन्। घाम देखिएपछि बर्तालुले पानीमा उभिएर अर्घ दिई पूजा सम्पन्न गरे।
बर्तालुले पञ्चमीका दिन खिर खाएर ३० घण्टा निराहार व्रत बसेका थिए। षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रत सम्पन्न गरिएको हो। मिथिलाको भाषामा यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
यसअघि शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरिएकामा आइतबार ‘खरना’ र सोमबार ‘सझुका अरख’ सम्पन्न गरिएको थियो। व्रत सम्पन्न गरेपछि बर्तालु घर फर्की प्रसाद वितरणमा सहभागी भएका छन्।
मिथिलामा ठकुवा, प्रसाद र मिष्ठान्न परिकार इष्टमित्र र आफन्तलाई पठाउने परम्परा छ, जसलाई ‘छठके सनेस’ भनिन्छ। यो क्रम दुई सातासम्म चल्ने गर्छ।मिथिला क्षेत्रको प्रमुख पर्व मानिएको छठ अहिले राष्ट्रिय पर्वका रूपमा विकसित भएको छ। पहाड र मधेसबीचको सांस्कृतिक एकतालाई यस पर्वले अझ सुदृढ बनाएको बुद्धिजीवीहरू बताउँछन्।सूर्यदेव र उहाँकी पत्नी षष्ठीको आराधना गरिने यस पर्वमा रोगव्याध निको हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास छ। संघीय र प्रदेश सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएका छन्।
