अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको उद्धार
काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १६२ जनाको उद्वार गरेको छ । अब अन्नपूर्ण बेसक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ ।

३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो । कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्धार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन । माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउने छन् ।
