‘अत्यावश्यक बाहेक नारायणगढ–मुग्लिन–मलेखु सडकमा यात्रा नगर्नू’
काठमाडौं । लगातारको वर्षासँगै पहिरोको उच्च जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी नारायणगढ–मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै नारायाण्ढ–मुग्लिन र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यक काम नपरी यात्रा नगर्न अनुरोध गरेको हो । वर्षासँगै बिहीबारदेखि नै यी सडकमा स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यक बाहेक सकरभर यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।
हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । तथापि यो खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको अर्यालको भनाई छ ।
वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने पनि उनले बताएका छन् । उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
यात्रा गर्न पूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
हेर्नुस् सूचना

