जनार्दनबारे प्रचण्ड- आफ्नो कुरा राखेर उठेर हिँड्ने शैली अराजक
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई अराजकको संज्ञा दिएका छन्।
सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताए। केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिर गरे।
शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिएका थिए । शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका छन् । बैठकपछि प्रचण्डलाई पत्रकारहरूले यही विषयमा सोधेका थिए, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’
प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’
आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए । ‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।
जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको भनेकोबारे प्रचण्डलाई प्रश्न गरे । जवाफमा प्रचण्डले भने, ‘त्यो गलत आरोप हो, अराजक आरोप हो ।’
