`

राष्ट्रपति पौडेल कतार प्रस्थान {तस्वीरहरु}

Nepal One HD १७ कार्तिक २०८२ १०:५६
प्रमुख खबर

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । उनी यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । संयुक्त राष्ट्रसंघको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।

तस्वीरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *