प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो : जनार्दन शर्मा
काठमाडौं । माओवादी केन्द्रबाट विदा लिएका नेता जनार्दन शर्माले पार्टी आयोजक कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादीसहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा महाधिवेशन टार्ने काम भएको बताएका छन् ।
उनले भने, ‘पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यले एकता भइरहेको छ । त्यसले न देशलाई निकास दिन्छ, न त जनमत नै पाउँछ, आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसक्यौं । हजारौँको केन्द्रीय कमिटी बन्दै छन् ।’ उनले प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप समेत लगाएका छन् । उनले थपे, ‘हामीले त्यो कुरालाई स्वीकार गर्न सकेनौं । त्यसैले हामीले पुनर्गठनको प्रगतिशील अभियान अघि बढाएका हौं । अहिलेको ध्रुवीकरण सिद्धान्त र विचार भन्दा बाहिरबाट भइरहेको छ ।’
