`

पुराना दलको असफलताले मुलुक संकटतर्फ धकेलियो : जनार्दन शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पुराना ठूला राजनीतिक दलहरूको असफल नेतृत्व र क्रान्तिकारी चरित्र जोगाउन नसक्ने प्रवृत्तिका कारण मुलुक आजको जटिल अवस्था—भ्रष्टाचार, बेथिति र परिणामहीन शासनसम्म पुगेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टीको राष्ट्रिय एकता घोषणा तथा एकता सभामा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले परिवर्तनकारी पार्टीको पहिचान भएको भए पनि सत्तामा पुगेपछि आफ्नै आदर्श र जनताप्रतिको प्रतिबद्धता कमजोर बनाएको बताए । शर्माले भने, ‘यी दलहरूले सामाजिक न्याय, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दालाई आवश्यक प्राथमिकता नदिँदा देश स्थिरता र परिणाम दुवैबाट टाढिँदै गयो । इतिहासमा योगदान गरेका दलले राज्यसत्ता सम्हालेपछि क्रान्तिकारी छवि रक्षा गर्न सकेनन्, जसले मुलुकलाई चरम भ्रष्टाचार र यथास्थितिमा फस्यो ।’

उनले समग्र शासन संरचना सुधार गर्ने अवसर बारम्बार आए पनि पुराना दलहरूले दलीय स्वार्थ, नातावाद, कृपावाद र दण्डहीनताको संस्कृति बोकेर संरचनागत प्रणालीलाई झनै कमजोर बनाएको बताए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई पनि शक्ति गणित र दाउपेचको मैदान बनाइएको उनको टिप्पणी थियो ।

शर्माले पुराना दलको यही कमजोर नेतृत्व ढाँचाले मुलुकलाई विकास, सुशासन र पारदर्शिताको बाटोमा अगाडि बढ्न नदिएको दाबी गरे । उनले थपे, ‘परिणाममुखी शासनको माग नागरिकले वर्षौदेखि गर्दै आएका छन्, तर पार्टीगत हितलाई प्राथमिकता दिने प्रवृत्तिका कारण जनताका अधिकार र अपेक्षा पूरा हुन सकेन ।’ प्रगतिशील लोकतान्त्रिक पार्टीले दीर्घकालीन संस्थागत सुधार, उत्तरदायित्वपूर्ण शासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चिततालाई प्रमुख कार्यसूचीका रूपमा अघि सार्ने बताउँदै शर्माले नयाँ राजनीतिक विकल्पले उदाहरणीय र परिणाममुखी शासन देखाउने विश्वास व्यक्त गरे ।

 

 

मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लाग्यौं : जनार्दन शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन् । आज (आइतबार) प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा बोल्दै उनले तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डलाई लक्षित गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । शर्माले सामन्तवादको सिहाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए ।

उनले भने, ‘सामन्तवादको सिहाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाईलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’ उनले प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । ‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्न नभइ हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो,’ पार्टीको घोषणा पत्र वाचन गर्दै शर्माले भनेका छन् ।

राजनीतिक पुनः संरचनाका लागि प्रगतिशील पार्टी गठन भएको उनको दाबी छ । त्यसका लागि पार्टीले छिट्टै राजनीतिक पुनः संरचना सम्मेलन २०८२ आयोजना गर्ने उनले बताए । उनले भने, ‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुनःसंरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुनःसंरचना सम्मेलन आयोजना गर्नेछ ।’

 

 

 

 

 

 

 

जनार्दन पक्षको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन (सूचीसहित)

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सविन सिग्देल अध्यक्ष रहने गरी यसअघि नेपाल जनसेवा पार्टी दल दर्ताका लागि निवेदन पेश भएकोमा शुक्रबार नाम परिवर्तन गरेर प्रगतिशिल लोकतान्त्रिक पार्टी बनाइएको हो ।

निर्वाचन चिन्ह तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेश भएको थियो । तर, शुक्रबार दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गर्ने काम गरिरहेका छन् । जनार्दन पक्षका एक उच्च नेताले निर्वाचन चिन्ह पनि हेरेफेर भएको हुनसक्ने जनाएका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएसँगै तत्कालीन उपमहासचिव जनार्दन शर्माको संरक्षणमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश भएको हो । अध्यक्ष प्रस्ताव गरिएका सिग्देल तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनको विशेष प्रदेश समितिको सचिव थिए । दर्ताका लागि पेश भएको निवेदनमा केन्द्रीय समिति २५ सदस्यीय रहने गरी प्रस्ताव गरिएको छ ।

जसमा अधिकांश तत्कालीन माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समितिसँगै क्याम्पस समितिमा रहेकाहरु छन् । जनार्दनसहितका मुख्य नेताहरु भने अहिले केन्द्रीय समितिमा छैनन् । रास्वपा छाडेर जनार्दनको क्याम्पमा पुगेका सन्तोष परियारको पनि नाम छैन । अहिले पार्टी दर्ता गरिराख्ने र निर्वाचन नजिकिएसँगै केन्द्रीय समितिको विवरण अद्यावधिक गर्ने रणनीति हुन सक्ने स्रोत बताउँछ ।

अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य

१–अध्यक्ष सविन सिग्देल

२–उपाध्यक्ष यमुना पुडासैनी

३–उपाध्यक्ष युगल ढकाल

४–महासचिव सुरेशप्रसाद केसी

५–सचिव नविनकुमार साह

६–सचिव चन्द्रकला बास्तोला

७–सचिव सुशिला महतो

८–सचिव सुभेक्षा श्रेष्ठ

९–कोषाध्यक्ष राधिका नेपाली सदस्य

१०–सिशिर आदित्य गौतम

११–रोमन पराजुली

१२–रामचन्द्र कार्की

१३–किरण चन्द

१४–सन्ध्या नेपाल

१५.समृद्धि बिष्ट

१६–युनिक शर्मा

१७–प्रविणकुमार यादव

१८–सौरव दवाडी

१९–सौम्य श्रेष्ठ

२०–बिशाल गेलाल

२१–अभय शर्मा

२२–बर्षा पराजुली

२३–कल्पना लामा

२४–दुर्गादेवी न्यौपाने

२५–सीता राई

 

 

 

 

सन्तोष, सुदन र मानुषीलाई लिएर दल दर्ताको तयारीमा जनार्दन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा नगई ‘प्रगतिशील अभियान नेपाल’ चलाइरहेका जनार्दन शर्माले दल दर्ताको गृहकार्य अगाडि बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले दल दर्ताको गृहकार्य भइरहेको स्वीकारेका छन् । शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले दल दर्ताको गृहकार्य भइरहेको बताएका हुन् ।

रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराई र अन्य केही दलका नेतालाई साथ लिएर नयाँ दल दर्ताको प्रयास भइरहेको नेताहरूले जनाएका छन् । त्यसकै लागि परियारले आजै शुक्रबारबाट रास्वपा परित्याग गरेका छन् । उनले नयाँ राजनीतिक अभियान चलाउने भन्दै राजीनामा पत्र बुझाएका छन् । परियारले पार्टी परित्यागअघि जनार्दन शर्मासहितका नेतासँग छलफल गरेका थिए ।

शुक्रबार कुपन्डोलस्थित शर्माको सम्पर्क कार्यालयमा भएको छलफलमा परियारसँगै नेसपा नयाँ शक्तिका डा. बाबुराम भट्टराई, मानुषी यमी भट्टराई, नेपाली कम्युनिष्ट पार्टीमा नगई प्रगतिशील राष्ट्रिय अभियानका संयोजक बनेका सुदन किराँती, राम कार्कीलगायतका नेताहरू सहभागी थिए । उनीहरूले शुक्रबार नै निर्वाचन आयोगमा नाम बुझ्नका लागि अभियानका एक केन्द्रीय सदस्यलाई खटाएका थिए । किराँतीले आफूहरू दल दर्ताको प्रयासमा रहेको बताए । ’हामी निरन्तर छलफलमै छौं । साँझसम्म एउटा निचोडमा पुग्छौँ,’ उनले सुनाए । उनीहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालसँग पनि मिलेर जाने विषयमा निरन्तर संवादमा छन् ।

जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’ को ३१ सदस्यीय केन्द्रीय समितिको सूची सार्वजनिक

काठमाडौं । जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ ले केन्द्रीय संयोजन समितिका सदस्यहरुको सूची सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता सुदन किराँतीले ३१ सदस्यीय समितिको सूची सार्वजनिक गरेका हुन् । बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर अभियानले केन्द्रीय संजोजन समिति गठन गरेको जानकारी दिएको हो ।

समितिमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी पुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार विक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल छन् ।

यस्तै गोरख बहादुर केसी, जटिल कार्की, देविराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन्।अभियानले भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने संकल्प सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा अभियानका नेता किरातीले युवाहरूको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरू रुपान्तरण कुनै संकेत नभएको बताए । उनले अबको चुनावमा जनताले जवाफ दिने बताए ।

‘समग्र राजनीतिमा भएका समस्यालाई पहिचान गर्दै, तिनिहरूको आमुल पुनर्संरचना गर्दै, नेपालका दिर्घकालीन र अल्पकालिन सबै समस्या समाधान गर्ने जनताको भावनाको जगमा टेकेको प्रगतिशील राजनीतिक शक्ति निर्माणमा एकजुट हुन आग्रह गर्दछौं’ किरातीले भने । उनले भ्रष्टाचार र बेथितिको दलदलमा सफाई देशलाई यो अवस्थामा पुर्‍याउने सफल, नैतिकताहिन र अहंककारी नेताहरूलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न आह्वान समेत गरे ।

जुनसुकै मूल्यमा निर्वाचनलाई सफल गर्नुपर्ने, देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने, जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बन्दै सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेण्डासहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

हेर्नुस् सूची

प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो : जनार्दन शर्मा

काठमाडौं । माओवादी केन्द्रबाट विदा लिएका नेता जनार्दन शर्माले पार्टी आयोजक कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादीसहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा महाधिवेशन टार्ने काम भएको बताएका छन् ।

उनले भने, ‘पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यले एकता भइरहेको छ । त्यसले न देशलाई निकास दिन्छ, न त जनमत नै पाउँछ, आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसक्यौं । हजारौँको केन्द्रीय कमिटी बन्दै छन् ।’ उनले प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप समेत लगाएका छन् । उनले थपे, ‘हामीले त्यो कुरालाई स्वीकार गर्न सकेनौं । त्यसैले हामीले पुनर्गठनको प्रगतिशील अभियान अघि बढाएका हौं । अहिलेको ध्रुवीकरण सिद्धान्त र विचार भन्दा बाहिरबाट भइरहेको छ ।’

माओवादीबाट अलगिए जनार्दन : ‘प्रगतिशील अभियान नेपाल’ घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको स्पष्ट पारेका छन् । नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए ।

उनले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरे । उनले भने, ‘हाम्रो कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौं ।’ उनले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास थालेको बताए । जनार्दनका साथमा माओवादीका नेताहरू राम कार्की, अञ्जना विशंखे लगायत पनि उपस्थित थिए ।

जनार्दन शर्माको प्रचण्डलाई स्पष्ट सन्देश : अहिले म आउँदिन, आवश्यक परे पछि भेटौंला

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता जनार्दन शर्माले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी हाल चलिरहेको एकता प्रक्रियामा सहभागी नहुने निर्णय सुनाएका छन् । आइतबार प्रचण्ड निवास पुगेर शर्माले आफू तत्काल उक्त प्रक्रियाबाट टाढा रहने र आगामी दिनमा आवश्यकता परे मात्रै सहकार्य गर्ने संकेत दिएका हुन् ।

शर्माको भनाइ उद्धृत गर्दै निकट स्रोतले जनाएको छ, ‘अहिले तपाईहरूसँग आउँदिन, म आफैं संघर्ष गर्छु । प्रचण्ड बिना मलाई कस्तो कठिनाइ आउँछ, म पनि हेर्छु । तपाईले पनि म बिना कस्तो महसुस गर्नु हुन्छ, पछि जरुरी परे मिलौंला । अहिलेलाई बिदा ।’ यसअघि केही भेटहरूमा असन्तुष्टि र आक्रोश व्यक्त गर्ने गरेका शर्मा यस पटक भने अपेक्षाकृत शान्त र सौहार्दपूर्ण मुद्रामा प्रस्तुत भएका थिए । शनिबार बसेको सचिवालय बैठकमा पनि उनले एकता प्रक्रियालाई तत्काल रोक्ने माग गर्दै त्यसअघि कुनै पनि गतिविधिमा सहभागी नहुने स्पष्ट गरेका थिए ।

एकता प्रक्रियाप्रति असहमति
शर्माले प्रस्ताव गरेका छन् कि पार्टी नेतृत्व परिवर्तन र माओवादी आन्दोलनको पहिचान मेट्ने किसिमको एकता अस्वीकार्य छ । उनले लेखित रुपमा प्रस्तुत गरेको सुझावमा भनिएको छ, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’ उनले पार्टी नछाड्ने तर ‘आफ्नै घरलाई बलियो बनाउने’ पक्षमा रहेको स्पष्ट गर्दै प्रचण्डलाई प्रश्न गरेका थिए–‘घरकालाई छाडेर जान भन्नु हुन्छ, अनि बाहिरबाट ल्याएकाले पार्टी बनाउँछ ?’

हाल माओवादी केन्द्र र नेकपाका केही नेताहरूबीच पुनः एकताको पहल भइरहेको छ । तर, नेतृत्व र वैचारिक दिशा बारे असहमति बढ्दै गएको छ । यही विवादबीच जनार्दन शर्माले प्रचण्डसँगको दूरी बढाउँदै स्वतन्त्र राजनीतिक बाटो परीक्षण गर्ने संकेत गरेका हुन् । शर्माको पछिल्लो निर्णयले माओवादी केन्द्रभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ चर्चा सुरु भएको छ । विश्लेषकहरूका अनुसार, प्रचण्ड नेतृत्वको एकता परियोजनामा शर्माको असहमति पार्टीभित्र थप तरंग ल्याउने सम्भावना छ ।

 

बैठकमा आफ्ना कुरा राखेर बाहिरिए जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा आफ्नो कुरा राखेर पार्टीको सचिवालयबाट बाहिरिएका छन् ।

उनले माओवाद छाडेर अन्य पार्टीसँग एकता गर्न नहुने र एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मत राखेका छन् । आफ्ना कुरा राखेपछि उनी सचिवालय बैठकबाट बाहिरिएका हुन् ।

पार्टीको सचिवालय बैठक भने मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । छलफलमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको प्रचण्डको ब्रिफिङ छ । उनका अनुसार संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएता पनि छलफल चलिरहेको छ ।

तर  सचिवालय बैठकमा नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका हुन् ।