जनार्दन शर्माको प्रचण्डलाई स्पष्ट सन्देश : अहिले म आउँदिन, आवश्यक परे पछि भेटौंला
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता जनार्दन शर्माले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी हाल चलिरहेको एकता प्रक्रियामा सहभागी नहुने निर्णय सुनाएका छन् । आइतबार प्रचण्ड निवास पुगेर शर्माले आफू तत्काल उक्त प्रक्रियाबाट टाढा रहने र आगामी दिनमा आवश्यकता परे मात्रै सहकार्य गर्ने संकेत दिएका हुन् ।
शर्माको भनाइ उद्धृत गर्दै निकट स्रोतले जनाएको छ, ‘अहिले तपाईहरूसँग आउँदिन, म आफैं संघर्ष गर्छु । प्रचण्ड बिना मलाई कस्तो कठिनाइ आउँछ, म पनि हेर्छु । तपाईले पनि म बिना कस्तो महसुस गर्नु हुन्छ, पछि जरुरी परे मिलौंला । अहिलेलाई बिदा ।’ यसअघि केही भेटहरूमा असन्तुष्टि र आक्रोश व्यक्त गर्ने गरेका शर्मा यस पटक भने अपेक्षाकृत शान्त र सौहार्दपूर्ण मुद्रामा प्रस्तुत भएका थिए । शनिबार बसेको सचिवालय बैठकमा पनि उनले एकता प्रक्रियालाई तत्काल रोक्ने माग गर्दै त्यसअघि कुनै पनि गतिविधिमा सहभागी नहुने स्पष्ट गरेका थिए ।
एकता प्रक्रियाप्रति असहमति
शर्माले प्रस्ताव गरेका छन् कि पार्टी नेतृत्व परिवर्तन र माओवादी आन्दोलनको पहिचान मेट्ने किसिमको एकता अस्वीकार्य छ । उनले लेखित रुपमा प्रस्तुत गरेको सुझावमा भनिएको छ, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’ उनले पार्टी नछाड्ने तर ‘आफ्नै घरलाई बलियो बनाउने’ पक्षमा रहेको स्पष्ट गर्दै प्रचण्डलाई प्रश्न गरेका थिए–‘घरकालाई छाडेर जान भन्नु हुन्छ, अनि बाहिरबाट ल्याएकाले पार्टी बनाउँछ ?’
हाल माओवादी केन्द्र र नेकपाका केही नेताहरूबीच पुनः एकताको पहल भइरहेको छ । तर, नेतृत्व र वैचारिक दिशा बारे असहमति बढ्दै गएको छ । यही विवादबीच जनार्दन शर्माले प्रचण्डसँगको दूरी बढाउँदै स्वतन्त्र राजनीतिक बाटो परीक्षण गर्ने संकेत गरेका हुन् । शर्माको पछिल्लो निर्णयले माओवादी केन्द्रभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ चर्चा सुरु भएको छ । विश्लेषकहरूका अनुसार, प्रचण्ड नेतृत्वको एकता परियोजनामा शर्माको असहमति पार्टीभित्र थप तरंग ल्याउने सम्भावना छ ।
