`

मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लाग्यौं : जनार्दन शर्मा

Nepal One HD ७ मंसिर २०८२ १४:४७
प्रमुख खबर

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन् । आज (आइतबार) प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा बोल्दै उनले तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डलाई लक्षित गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । शर्माले सामन्तवादको सिहाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए ।

उनले भने, ‘सामन्तवादको सिहाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाईलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’ उनले प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । ‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्न नभइ हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो,’ पार्टीको घोषणा पत्र वाचन गर्दै शर्माले भनेका छन् ।

राजनीतिक पुनः संरचनाका लागि प्रगतिशील पार्टी गठन भएको उनको दाबी छ । त्यसका लागि पार्टीले छिट्टै राजनीतिक पुनः संरचना सम्मेलन २०८२ आयोजना गर्ने उनले बताए । उनले भने, ‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुनःसंरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुनःसंरचना सम्मेलन आयोजना गर्नेछ ।’

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *