सन्तोष, सुदन र मानुषीलाई लिएर दल दर्ताको तयारीमा जनार्दन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा नगई ‘प्रगतिशील अभियान नेपाल’ चलाइरहेका जनार्दन शर्माले दल दर्ताको गृहकार्य अगाडि बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले दल दर्ताको गृहकार्य भइरहेको स्वीकारेका छन् । शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले दल दर्ताको गृहकार्य भइरहेको बताएका हुन् ।
रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराई र अन्य केही दलका नेतालाई साथ लिएर नयाँ दल दर्ताको प्रयास भइरहेको नेताहरूले जनाएका छन् । त्यसकै लागि परियारले आजै शुक्रबारबाट रास्वपा परित्याग गरेका छन् । उनले नयाँ राजनीतिक अभियान चलाउने भन्दै राजीनामा पत्र बुझाएका छन् । परियारले पार्टी परित्यागअघि जनार्दन शर्मासहितका नेतासँग छलफल गरेका थिए ।
शुक्रबार कुपन्डोलस्थित शर्माको सम्पर्क कार्यालयमा भएको छलफलमा परियारसँगै नेसपा नयाँ शक्तिका डा. बाबुराम भट्टराई, मानुषी यमी भट्टराई, नेपाली कम्युनिष्ट पार्टीमा नगई प्रगतिशील राष्ट्रिय अभियानका संयोजक बनेका सुदन किराँती, राम कार्कीलगायतका नेताहरू सहभागी थिए । उनीहरूले शुक्रबार नै निर्वाचन आयोगमा नाम बुझ्नका लागि अभियानका एक केन्द्रीय सदस्यलाई खटाएका थिए । किराँतीले आफूहरू दल दर्ताको प्रयासमा रहेको बताए । ’हामी निरन्तर छलफलमै छौं । साँझसम्म एउटा निचोडमा पुग्छौँ,’ उनले सुनाए । उनीहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालसँग पनि मिलेर जाने विषयमा निरन्तर संवादमा छन् ।
