`

पुराना दलको असफलताले मुलुक संकटतर्फ धकेलियो : जनार्दन शर्मा

Nepal One HD ७ मंसिर २०८२ १५:३८
प्रमुख खबर

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पुराना ठूला राजनीतिक दलहरूको असफल नेतृत्व र क्रान्तिकारी चरित्र जोगाउन नसक्ने प्रवृत्तिका कारण मुलुक आजको जटिल अवस्था—भ्रष्टाचार, बेथिति र परिणामहीन शासनसम्म पुगेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टीको राष्ट्रिय एकता घोषणा तथा एकता सभामा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले परिवर्तनकारी पार्टीको पहिचान भएको भए पनि सत्तामा पुगेपछि आफ्नै आदर्श र जनताप्रतिको प्रतिबद्धता कमजोर बनाएको बताए । शर्माले भने, ‘यी दलहरूले सामाजिक न्याय, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दालाई आवश्यक प्राथमिकता नदिँदा देश स्थिरता र परिणाम दुवैबाट टाढिँदै गयो । इतिहासमा योगदान गरेका दलले राज्यसत्ता सम्हालेपछि क्रान्तिकारी छवि रक्षा गर्न सकेनन्, जसले मुलुकलाई चरम भ्रष्टाचार र यथास्थितिमा फस्यो ।’

उनले समग्र शासन संरचना सुधार गर्ने अवसर बारम्बार आए पनि पुराना दलहरूले दलीय स्वार्थ, नातावाद, कृपावाद र दण्डहीनताको संस्कृति बोकेर संरचनागत प्रणालीलाई झनै कमजोर बनाएको बताए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई पनि शक्ति गणित र दाउपेचको मैदान बनाइएको उनको टिप्पणी थियो ।

शर्माले पुराना दलको यही कमजोर नेतृत्व ढाँचाले मुलुकलाई विकास, सुशासन र पारदर्शिताको बाटोमा अगाडि बढ्न नदिएको दाबी गरे । उनले थपे, ‘परिणाममुखी शासनको माग नागरिकले वर्षौदेखि गर्दै आएका छन्, तर पार्टीगत हितलाई प्राथमिकता दिने प्रवृत्तिका कारण जनताका अधिकार र अपेक्षा पूरा हुन सकेन ।’ प्रगतिशील लोकतान्त्रिक पार्टीले दीर्घकालीन संस्थागत सुधार, उत्तरदायित्वपूर्ण शासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चिततालाई प्रमुख कार्यसूचीका रूपमा अघि सार्ने बताउँदै शर्माले नयाँ राजनीतिक विकल्पले उदाहरणीय र परिणाममुखी शासन देखाउने विश्वास व्यक्त गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *