आजको दिन अब कसैले बिर्साएर बिर्सने छैन : प्रचण्ड
काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले आफूहरूलाई कमजोरी केलाउने र असाधारण एकताको लागि बल दिएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी घोषणाको कार्यक्रममा बुधबार प्रचण्डले जेनजी आन्दोलन भएकै कारण १० वटा कम्युनिष्ट दलले ऐतिहासिक एकता घोषणा गरेको बताए ।
‘दलहरूलाई सच्याउनका लागि जेनजीले ऊर्जा दिनु भयो । आजको एकता नेताको संकल्पको पछाडि जेनजी आन्दोलन र सहिदको भूमिका छ । उहाँहरूले त्यसो नगरेको भए कमजोरीबाट सच्चिने र एकतातिर यति छिट्टै जानेमा आउने थिएनौं । बरु विभाजनतिर जाने स्थिति हुन्थ्यो,’ प्रचण्डले भने, ‘हाम्रा कमजोरी उजागार गरिदिनु भयो । हामी कहाँ चुक्यौ भन्ने कुरालाई आन्दोलनले, प्रविधिमार्फत् भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा आवाज बुलन्द गर्नुभयो । हामी सच्चिनुको विकल्पै छैन ।’
प्रचण्डले १० वटा कम्युनिष्ट दल एकै पटक मिलेको ऐतिहासिक दिन भएको पनि बताए । ‘नेपाली कम्युनिष्ट इतिहास कहिल्यै नबिर्सने दिन आज बनेको छ । १० वटा कम्युनिष्ट पार्टी एकै दिन मिलेको इतिहास छैन । त्यस कारण आजको दिन अविष्मरणीय ऐतिहासिक दिनका रूपमा अंकित भएको छ । यो दिन अब कसैले बिर्साएर बिर्सने छैन,’ प्रचण्डले थपे, ‘नेपाली राजनीतिमा देखिएका चुनौतीलाई समाधान गर्ने दिन हो । राष्ट्रमा देखिएको संकट र दलमाथि आक्षेप लगाउने कोशिसविरुद्ध राष्ट्रिय एकता स्वाधीनताको दिशामा अगाडि बढ्ने दिन हो ।’ एकै दिनको आन्दोलनले सुगौली सन्धीपछि सबैभन्दा ठूलो संकट ल्याइदिएको भन्दै आफूहरू एकतामा गएको उनले बताए । राष्ट्र संकटमा गएकोले कम्युनिस्टहरू एक भएर जवाफ दिन खोजेको प्रचण्डको दाबी छ ।
