न्यूयोर्कको मेयर जितेपछि मम्दानीले खाए नेपाली रेस्टुरेन्टमा मःम
काठमाडौं । अमेरिकी राजनीतिमा उदाउँदै गरेका दुई प्रभावशाली युवा अनुहार, न्युयोर्कका नव निर्वाचित नगर प्रमुख जोहरान मम्दानी र चर्चित सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) बीच हालै एक विशेष भेटघाट भएको छ । यो भेटघाटले राजनीतिक वृत्तमा मात्र नभई नेपाली समुदायमाझ पनि निकै चर्चा बटुलेको छ । किनभने यसको पृष्ठभूमिमा थियो ज्याक्सन हाइट्सको सुप्रसिद्ध नेपाली रेष्टुरेन्ट ‘लालीगुराँस बिस्ट्रो’ ।
मेयरमा निर्वाचित भएपछिको पहिलो व्यस्त दिनको अनुभव सुनाउँदै मम्दानीले बिहीबार ‘एक्स’ (पहिलेको ट्विटर) मा तस्बिरसहितको पोस्ट गरेका थिए । उनले लेखेका छन्, ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो : एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए । तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’

तस्बिरमा मम्दानी र एओसी मःम, चिकेन तन्दुरी, दूध चिया र आलु लगायतका नेपाली परिकारहरूको स्वाद लिँदै सौहार्दपूर्ण गफमा मग्न देखिन्छन् । सन् २००८ मा स्थापित लालीगुराँस बिस्ट्रो न्युयोर्कको ज्याक्सन हाइट्समा रहेको नेपाली बाहुल्य क्षेत्रको एक लोकप्रिय गन्तव्य हो । नेपाली स्वाद र आतिथ्यका लागि परिचित यो रेष्टुरेन्ट नेपाली समुदायमाझ निकै चर्चित छ ।
मम्दानी र एओसी दुवैले आफ्नो चुनावी अभियानका क्रममा पनि न्युयोर्कका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली भाषामै पोस्टहरू गरेर आफ्नोपन देखाएका थिए । अमेरिकी राजनीतिको केन्द्रमा नेपाली संस्कृति र परिकारको उपस्थितिले प्रवासी नेपालीहरूमाझ गर्वको अनुभूति गराएको छ । उनले त्यहाँ पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बन्न सफल मम्दानीलाई निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हराउन भरपूर प्रयास गरेका थिए ।
तर ३४ वर्षीय मम्दानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् । जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्ने छन् । उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।
