खेलाडीहरुले एन्फा गेटमै झुण्ड्याई दिए मेडल (तस्वीरहरु)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच यो वर्ष ‘ए’ डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरु विरोधमा उत्रिएका छन् । नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन् ।
उनीहरुले आफूहरुले जितेको मेडल समेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाई दिएका छन् । नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरुको भनाइ छ । यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ‘ए’ डिभिजन गर्ने सहमति गरेका थिए ।
यो वर्ष भने तीन वर्षअघि भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौंडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो । राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन् । बाँकी ८ ‘ए’ डिभिजन क्लबको भने प्रतिनिधित्व हुने छैन ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

