आँखा शिविरबाट २४२ जना लाभान्वित
जुम्ला । सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित रहेका छन् ।
बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिएका छन् । शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए । बिरामीको आवतजावतदेखि आवाससम्मको खँर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो ।
नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताएका छन् ।
यसैबीच, चालु आर्थिक वर्षको प्रथम तीन महिनामा जिल्लाका एक हजार ४७० जनाको नेत्र परीक्षण गरिएको यहाँस्थित नेत्रज्योति सङ्घले जनाएको छ । गत आवमा पाँच हजार ७०० जनाले सेवा लिएका थिए ।
