`

माधव नेपालप्रति झाँक्रीको व्यङग्य : आफ्नै बेइज्जती हुने कारबाही नगरेको भए हुन्थ्यो

Nepal One HD २१ कार्तिक २०८२ १३:४२
प्रमुख खबर

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालद्वारा नेतृ रामकुमारी झाँक्री र उनका पाँच सहकर्मीमाथि गरिएको कारबाहीले पार्टीभित्र ठूलो तरङ्ग ल्याएको छ । कारबाहीको जानकारी सार्वजनिक हुना साथ झाँक्रीले सामाजिक सञ्जालमार्फत नेपाललाई लक्षित गर्दै कडा, व्यंग्यपूर्ण र भावनात्मक प्रतिक्रिया दिएकी छिन् ।

पार्टीको लेटरहेडमै कारबाहीको निर्णय आएपछि झाँक्रीले लेखेकी छिन्, ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ?’ उनले १९ वर्षसम्म पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका माधव नेपालको राजनीतिक इतिहास स्मरण गराउँदै पछिल्लो निर्णयले उनको सम्पूर्ण यात्रामाथि पुनः प्रश्न उठाएको बताइन् । झाँक्रीले भनेकी छन्, ‘यो अन्तिम कदमले कमरेडको इतिहास बल्झिएको छ, बिर्सेका घटनाहरू पुनः स्मृतिमा फर्किएका छन् ।’

उनले लेखेकी छिन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशका लागि जीवन र जवानी अर्पण गर्नेले अन्ततः लाने त यही हो—एउटा मिठो वा तितो स्मृति, चिया पसलमा दुई जनाले गर्ने कुरा । आफ्नै मलामी त कसले पो देख्छ र ?’ झाँक्रीले कारबाहीलाई ‘अन्तिम कर्म’ ठान्दै व्यंग्यात्मक ढंगले नेपाललाई ‘हार्दिक धन्यवाद’ समेत दिएकी छिन् । यद्यपि, उनले अन्त्यमा मानवीय पक्ष पनि जोड्दै माधव नेपाललाई ‘अभिभावकको रूपमा सम्मानका साथ बाँकी जीवनमा सुख, परिवारमा शान्ति र सुस्वास्थ्य’ को शुभकामना दिएकी छन् ।

नेकपा एकीकृत समाजवादीमा आन्तरिक असन्तुष्टि बढ्दै गएको बेला झाँक्रीले हालै एमालेमा फर्किने घोषणा गरेकी थिइन् । यसबीचमा आएको कारबाही र त्यसप्रतिको उनको प्रतिकारले पार्टीभित्रको विभाजन अझ गहिरिएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *