`

भदौ २४ गते तोडफोड र चोरीका भिडियो प्रष्ट छन्, तर सरकार उदार देखियो : माधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले राज्य सत्तामा बस्नेहरूले गर्ने गल्तीमा खबरदारी गर्नु जनताको अधिकार भएको भन्दै सुन्न सक्ने सरकार बन्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले भने, ‘म राज्य सत्तामा बस्नेहरूले गर्ने गल्तीमा खबरदारी गर्नु जनताको अधिकार ठान्दछु र यसै संघर्षबाट ठूला परिवर्तन सम्भव हुन्छन् भन्ने विश्वास गर्दछु ।’

नेपालले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सत्तामा बस्नेहरूले लोकतान्त्रिक विधि, प्रक्रिया र परामर्शका आधारमा समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ । भदौं २४ गते भएको विध्वंस, आगजनी र लुटपाटको घटनालाई उनले आपत्तिजनक र दण्डनीय भएको बताए । ‘म भदौं २४ गते भएको विध्वंस, आगजनी र लुटपाटलाई अत्यन्तै आपत्तिजनक र दण्डनीय कार्य मान्दछु,’ उनले भने ।

उनले सिसिटिभी फुटेजका आधारमा दोषीहरूलाई पक्राउ गरी कडा कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग गरे । ‘कसले तोडफोड गरेको भिडियोमा देखिन्छ । कसले लुटेको सिसीटिभी फुटेजबाट देखिन्छ । तर सरकार कारबाही गर्दैन,’ उनले भने । व्यापार, पेशा, शान्ति र समृद्धिका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता उनले औँल्याए । शान्ति बहाली गर्न राज्यका संयन्त्रहरू विफल हुनु र सरकारको ध्यान नपुग्नु गम्भीर प्रश्न भएको उनको भनाइ थियो ।

‘म शान्ति बहाली गर्न राज्यका संयन्त्रहरू विफल हुनु र सरकारको ध्यान नपुग्नुलाई गम्भीर प्रश्नको रूपमा लिन्छु,’ उनले भने । नेपालले धेरै स्थायित्वले नेताहरूमा घमण्ड पैदा गरी सत्ताको दुरुपयोग र नीतिगत समस्या बढाउन सक्ने धारणा राखे। नीति र योजनामा निरन्तरता नहुँदा देशको समृद्धि र जनताको जीवनमा प्रत्यक्ष असर परेको अनुभव आफूले गरेको बताए ।

 

जेनजीका जायज माग हामी अघि बढाउँछौं : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले पार्टीप्रति युवाको भरोसा बढ्दै गएको बताउँदै हालसम्म हजारौं युवा संगठनमा प्रवेश गरिसकेको दावी गरेका छन् ।

मधेश प्रदेशस्तरीय एकता सन्देश सभामा बोल्दै उनले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्न नेकपा अग्रसर रहेको उल्लेख गरे । उनले नयाँ पुस्ताले उठाएका मागहरू, विशेष गरी जेनजी आन्दोलनले अघि सारेका मुद्दा, न्यायोचित भएको र पार्टीले त्यसलाई अग्रस्थानमा राखेर अघि बढाउने प्रतिबद्धता जाहेर गरे । सभामा अन्य नेकपा नेताहरूले समेत पार्टीलाई सबल र विश्वासिलो विकल्पका रूपमा उभ्याउन एकताबद्ध प्रयास जारी रहेको बताए ।

मुलुकमा देखिएका विभिन्न बेथिति, दुरुपयोग र कमजोर शासन व्यवस्थाले जनतामा निराशा बढाएको उल्लेख गर्दै नेताहरूले नेकपा त्यसको विकल्पका रूपमा अघि बढिरहेको धारणा राखे । पार्टी एकताको सन्देश व्यापक रूपमा प्रसारण गर्ने उद्देश्यले नेकपाले विभिन्न प्रदेशमा सन्देश सभा सञ्चालन गरिरहेको छ । यसै क्रममा अब कर्णाली र काठमाडौंमा पनि विशाल एकता सन्देश सभाको तयारी भइरहेको पार्टीले जनाएको छ ।

माधव नेपालको निर्देशन : संकटमा प्रचण्ड र मैले खेलेको भूमिका जनतासम्म पुर्‍याउनुस्

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी नेता–कार्यकर्तालाई आफू र प्रचण्ड प्रधानमन्त्री भएका समयमा गरेका कामदेखि हालसम्म खेलिएको राजनीतिक भूमिकालाई जनतामाझ पुर्‍याउन निर्देशन दिएका छन् । धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई सही राजनीतिक दिशा दिन नेताहरूले आफ्ना कामबारे पारदर्शी रूपमा जनतासामु जानुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री नेपालले विशेषतः जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका क्षणहरू स्मरण गर्दै आफू र प्रचण्ड राष्ट्रपति कार्यालयमै बसेर रातभर देशलाई जोगाउने प्रयासमा सक्रिय रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिले हामीलाई सम्झनु भयो, अरू नेताहरूको अत्तोपत्तो थिएन । हामी पुग्यौं, देशलाई संकटबाट जोगाउन भूमिका खेल्यौं ।’

उनले हालका प्रधानमन्त्रीलाई पनि निष्पक्ष चुनाव गराउन प्रोत्साहन प्रदान गरिएको उल्लेख गर्दै सबै नेता एउटै ढर्राका नभएको, राम्रो सोच र काम गर्ने नेतृत्व पनि देशमा रहेको स्पष्ट पार्न आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले आफू मात्रको प्रशंसा चाहने प्रवृत्तिले राजनीतिमा नकारात्मक प्रभाव पार्ने टिप्पणी गरे । सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो शक्ति बन्ने विश्वास समेत व्यक्त गरे ।

सोही सभामा नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको मार्गचित्र तयार पारिसकेको उल्लेख गरे । वर्तमान दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण र अपराधीकरण हावी भएकाले देश कुशासन र भ्रष्टाचारको चपेटामा परेको उनको तर्क थियो ।
‘अहिले देशमा कुशासन र भ्रष्टाचार व्याप्त छ । यसलाई अन्त्य गर्ने जिम्मा हाम्रो पार्टीले लिनेछ’, उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा इमानदारी, समर्पण र देश बनाउने हुटहुटी नहुँदा विकास थिलथिलो भएको हो । हामीलाई देश र जनताको चिन्ता छ, त्यसैले स्वच्छ राजनीतिको नेतृत्व हामीले गर्नुपर्छ ।’

नेपालले एकीकृत पार्टी बनेपछि सबै नेताले सबैको कामको प्रचार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार जनतामा सकारात्मक सन्देश पुर्‍याउन र देशलाई सही दिशामा डोर्याउन नेतृत्वको सामूहिक भूमिकाबारे जानकारी फैलाउनु आवश्यक छ । उनले नयाँ पुस्ता-विशेषतः जेन जेडलाई निराशाबाट उठाएर सकारात्मक राजनीतिक सहभागितातर्फ प्रेरित गर्न पनि पार्टी प्रतिबद्ध रहेको बताए ।

पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुस् : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टी एकतापछि अब नेता कार्यकर्तालाई पुरानो पार्टीको धङधङी त्याग्न आग्रह गरेका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अब नयाँ भइसकेको बताए। नेपालले भने, ‘हामीहरूले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने होइन, हामी एउटै भइसकेको छौँ । हामीले ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन हुँदैन। ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ, विचार, सिद्धान्त र कार्यक्रमले एकताबद्ध होऔँ ।’

नेपालको राजनीतिमा जनतालाई भरोसा दिनसक्ने पार्टीको रूपमा अगाडि बढाउनुपर्ने सहसंयोजक नेपालले बताए। सह–संयोजक नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताए । उनले आपसी मतभेद नगरी जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे।

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर कतिपयको होस हवास उडेको छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन् ।

बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरे । उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गरे । आफूहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए। आफूहरुलाई धन्यवाद दिन प्रश्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ ।

उनले भने, ‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ । होस हवास गुमेको हुनुपर्छ । होस गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारेँ, तपाईंहरुले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रश्ताव पास गर्नुस् । धन्यवाद प्रश्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।’

उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिए। एकता अभियानप्रति गौरववोध गर्नुपर्ने बताए।

महाधिवेशनपछि प्रचण्ड र म दुवै नेतृत्वमा रहँदैनौं : माधव नेपाल

काठमाडौं । ‘नेपाली कम्युनिष्ट पार्टी’ का सहसंयोजक माधवकुमार नेपालले आफू पदको लागि मरिहत्ते गर्ने व्यक्ति नभएको बताएका छन् ।पार्टी एकताका क्रममा दुई जना अध्यक्ष हुने प्रस्तावलाई अस्वीकार गरेर आफू सहसंयोजक बनेको नेता नेपालले दावी गरेका छन् । एक अन्तर्वाताका क्रममा नेपालले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुवै जना अध्यक्ष हुने प्रस्ताव गरेको तर, आफूले नमानेको उनले दाबी गरेका छन् ।

‘भनिसक्नु भएको थियो प्रचण्डले । दुईटै अध्यक्षको व्यवस्था गरौं, पहिलेको मोडलमा जाऔं । २०७५ सालको मोडलमा जाऔं भनेर प्रचण्डजीले आफ्नोतर्फ उदारता देखाएको हो’ उनले भनेका छन्, ‘मैले भनें मलाई चाहिँदैन । त्यसैले म मैदान छोडेर भाग्ने होइन । तर पदको निम्ति मरिहत्ते पनि गर्ने होइन । मैले चाहेको भए धेरैचोटी म प्रधानमन्त्री भइसक्थेँ । मैले त्यो अवसर पाइसकेको थिएँ ।’

उनले पदको लागि मरिहत्ते गर्‍यो भन्लान् भनेर आफूले प्रचण्डको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । उनले ‘बेकारमा दुई–दुई वटा अध्यक्ष पदको निम्ति मरिहत्ते गर्‍यो भन्लान् भनेर फेरि यो गीत गाउँलान् भन्ने कुराले पनि मलाई अलि पोल्दोरहेछ ।’ उनले पार्टीको महाधिवेशनपछि आफू र प्रचण्ड दुवै जना नेतृत्वमा नबस्ने पनि स्पष्ट पारेका छन् ।

सहसंयोजक नेपालले एकीकृत समाजवादी भइसके पछाडि पनि आफूलाई राष्ट्रपति र प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् । ‘राष्ट्रपति पनि बन्न नमानेको हो । विद्या भण्डारीजी राष्ट्रपति बन्नेवाला होइन । मलाई घेराबन्दीमा पारेर राष्ट्रपति बनाउन खोजेका थिए । मैले अस्वीकार गरेर ‘विद्या भण्डारीजी बन्नुस्’ भनेको नेपालको भनाई छ । ‘यो सबैलाई थाहा होस् । रामचन्द्र पौडेलजीलाई मैले नै हुन्छ भनेको हो । अहिले संकटको बेलामा रामचन्द्र पौडेल राष्ट्रपति ज्यूले जुन अडान लिनु भएको छ, त्यसको म प्रशंसा गर्न चाहन्छु ।’

माधव नेपालप्रति झाँक्रीको व्यङग्य : आफ्नै बेइज्जती हुने कारबाही नगरेको भए हुन्थ्यो

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालद्वारा नेतृ रामकुमारी झाँक्री र उनका पाँच सहकर्मीमाथि गरिएको कारबाहीले पार्टीभित्र ठूलो तरङ्ग ल्याएको छ । कारबाहीको जानकारी सार्वजनिक हुना साथ झाँक्रीले सामाजिक सञ्जालमार्फत नेपाललाई लक्षित गर्दै कडा, व्यंग्यपूर्ण र भावनात्मक प्रतिक्रिया दिएकी छिन् ।

पार्टीको लेटरहेडमै कारबाहीको निर्णय आएपछि झाँक्रीले लेखेकी छिन्, ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ?’ उनले १९ वर्षसम्म पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका माधव नेपालको राजनीतिक इतिहास स्मरण गराउँदै पछिल्लो निर्णयले उनको सम्पूर्ण यात्रामाथि पुनः प्रश्न उठाएको बताइन् । झाँक्रीले भनेकी छन्, ‘यो अन्तिम कदमले कमरेडको इतिहास बल्झिएको छ, बिर्सेका घटनाहरू पुनः स्मृतिमा फर्किएका छन् ।’

उनले लेखेकी छिन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशका लागि जीवन र जवानी अर्पण गर्नेले अन्ततः लाने त यही हो—एउटा मिठो वा तितो स्मृति, चिया पसलमा दुई जनाले गर्ने कुरा । आफ्नै मलामी त कसले पो देख्छ र ?’ झाँक्रीले कारबाहीलाई ‘अन्तिम कर्म’ ठान्दै व्यंग्यात्मक ढंगले नेपाललाई ‘हार्दिक धन्यवाद’ समेत दिएकी छिन् । यद्यपि, उनले अन्त्यमा मानवीय पक्ष पनि जोड्दै माधव नेपाललाई ‘अभिभावकको रूपमा सम्मानका साथ बाँकी जीवनमा सुख, परिवारमा शान्ति र सुस्वास्थ्य’ को शुभकामना दिएकी छन् ।

नेकपा एकीकृत समाजवादीमा आन्तरिक असन्तुष्टि बढ्दै गएको बेला झाँक्रीले हालै एमालेमा फर्किने घोषणा गरेकी थिइन् । यसबीचमा आएको कारबाही र त्यसप्रतिको उनको प्रतिकारले पार्टीभित्रको विभाजन अझ गहिरिएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

सरकारी सुरक्षाबिना केन्द्रीय कमिटी बैठकमा पुगे माधव नेपाल (तस्बिरहरू)

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबार सुरु हुँदैछ । बैठक कार्तिक १४ गतेसम्म मिराकल भेन्युमा चल्नेछ । बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाललगायतका नेता बैठक स्थलमा पुगेका छन् ।

अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै बैठकस्थलमा देखिएका छन् । सरकारले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।