`

भदौ २४ गते तोडफोड र चोरीका भिडियो प्रष्ट छन्, तर सरकार उदार देखियो : माधव नेपाल

Nepal One HD १६ पुष २०८२ १६:३४
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले राज्य सत्तामा बस्नेहरूले गर्ने गल्तीमा खबरदारी गर्नु जनताको अधिकार भएको भन्दै सुन्न सक्ने सरकार बन्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले भने, ‘म राज्य सत्तामा बस्नेहरूले गर्ने गल्तीमा खबरदारी गर्नु जनताको अधिकार ठान्दछु र यसै संघर्षबाट ठूला परिवर्तन सम्भव हुन्छन् भन्ने विश्वास गर्दछु ।’

नेपालले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सत्तामा बस्नेहरूले लोकतान्त्रिक विधि, प्रक्रिया र परामर्शका आधारमा समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ । भदौं २४ गते भएको विध्वंस, आगजनी र लुटपाटको घटनालाई उनले आपत्तिजनक र दण्डनीय भएको बताए । ‘म भदौं २४ गते भएको विध्वंस, आगजनी र लुटपाटलाई अत्यन्तै आपत्तिजनक र दण्डनीय कार्य मान्दछु,’ उनले भने ।

उनले सिसिटिभी फुटेजका आधारमा दोषीहरूलाई पक्राउ गरी कडा कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग गरे । ‘कसले तोडफोड गरेको भिडियोमा देखिन्छ । कसले लुटेको सिसीटिभी फुटेजबाट देखिन्छ । तर सरकार कारबाही गर्दैन,’ उनले भने । व्यापार, पेशा, शान्ति र समृद्धिका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता उनले औँल्याए । शान्ति बहाली गर्न राज्यका संयन्त्रहरू विफल हुनु र सरकारको ध्यान नपुग्नु गम्भीर प्रश्न भएको उनको भनाइ थियो ।

‘म शान्ति बहाली गर्न राज्यका संयन्त्रहरू विफल हुनु र सरकारको ध्यान नपुग्नुलाई गम्भीर प्रश्नको रूपमा लिन्छु,’ उनले भने । नेपालले धेरै स्थायित्वले नेताहरूमा घमण्ड पैदा गरी सत्ताको दुरुपयोग र नीतिगत समस्या बढाउन सक्ने धारणा राखे। नीति र योजनामा निरन्तरता नहुँदा देशको समृद्धि र जनताको जीवनमा प्रत्यक्ष असर परेको अनुभव आफूले गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *