महाधिवेशनपछि प्रचण्ड र म दुवै नेतृत्वमा रहँदैनौं : माधव नेपाल
काठमाडौं । ‘नेपाली कम्युनिष्ट पार्टी’ का सहसंयोजक माधवकुमार नेपालले आफू पदको लागि मरिहत्ते गर्ने व्यक्ति नभएको बताएका छन् ।पार्टी एकताका क्रममा दुई जना अध्यक्ष हुने प्रस्तावलाई अस्वीकार गरेर आफू सहसंयोजक बनेको नेता नेपालले दावी गरेका छन् । एक अन्तर्वाताका क्रममा नेपालले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुवै जना अध्यक्ष हुने प्रस्ताव गरेको तर, आफूले नमानेको उनले दाबी गरेका छन् ।
‘भनिसक्नु भएको थियो प्रचण्डले । दुईटै अध्यक्षको व्यवस्था गरौं, पहिलेको मोडलमा जाऔं । २०७५ सालको मोडलमा जाऔं भनेर प्रचण्डजीले आफ्नोतर्फ उदारता देखाएको हो’ उनले भनेका छन्, ‘मैले भनें मलाई चाहिँदैन । त्यसैले म मैदान छोडेर भाग्ने होइन । तर पदको निम्ति मरिहत्ते पनि गर्ने होइन । मैले चाहेको भए धेरैचोटी म प्रधानमन्त्री भइसक्थेँ । मैले त्यो अवसर पाइसकेको थिएँ ।’
उनले पदको लागि मरिहत्ते गर्यो भन्लान् भनेर आफूले प्रचण्डको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । उनले ‘बेकारमा दुई–दुई वटा अध्यक्ष पदको निम्ति मरिहत्ते गर्यो भन्लान् भनेर फेरि यो गीत गाउँलान् भन्ने कुराले पनि मलाई अलि पोल्दोरहेछ ।’ उनले पार्टीको महाधिवेशनपछि आफू र प्रचण्ड दुवै जना नेतृत्वमा नबस्ने पनि स्पष्ट पारेका छन् ।
सहसंयोजक नेपालले एकीकृत समाजवादी भइसके पछाडि पनि आफूलाई राष्ट्रपति र प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् । ‘राष्ट्रपति पनि बन्न नमानेको हो । विद्या भण्डारीजी राष्ट्रपति बन्नेवाला होइन । मलाई घेराबन्दीमा पारेर राष्ट्रपति बनाउन खोजेका थिए । मैले अस्वीकार गरेर ‘विद्या भण्डारीजी बन्नुस्’ भनेको नेपालको भनाई छ । ‘यो सबैलाई थाहा होस् । रामचन्द्र पौडेलजीलाई मैले नै हुन्छ भनेको हो । अहिले संकटको बेलामा रामचन्द्र पौडेल राष्ट्रपति ज्यूले जुन अडान लिनु भएको छ, त्यसको म प्रशंसा गर्न चाहन्छु ।’
