`

मुख्यमन्त्री नियुक्ति विवाद : मधेसका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड र नाराबाजी

Nepal One HD २४ कार्तिक २०८२ ११:५१
प्रमुख खबर

काठमाडौँ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट कांग्रेसका नेता–कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यकक्षमा आज तोडफोड र नाराबाजी गरेका छन् । त्यसक्रममा कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा समेत फालेका छन् । कांग्रेसको तोडफोडबाट मुख्यमन्त्रीको कार्यकक्षमा क्षति पुगेको छ । त्यसक्रममा उनीहरूले मधेस प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरेका छन् ।

प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपासहितका प्रदेश सांसद र दलका कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका हुन् । आज बिहान मात्रै भण्डारीले बर्दिवासको एक होटलमा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

त्यसप्रति कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपालगायतका दल असन्तुष्ट छन् । उनीहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए । तर, एमाले कोटामा प्रदेश प्रमुख बनेकी झापा निवासी भण्डारीले विपक्षी दलहरूको कुरा नसुनी ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद देखिएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *