नेकपामा भीम रावललाई ‘हाइ कमाण्ड’
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा एमालेका बिद्रोही नेता डा. भीम रावलले अब आफ्नो ‘मातृभूमि जागरण अभियान’ लाई प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग समाहित गर्ने अन्तिम तयारी गरेका छन् । नेकपाका युवा नेता सुदेश पराजुलीले रावल पक्षसँग भएको सहमति सार्वजनिक गर्दै भने, ‘मातृभूमि जागरण अभियान अब नेकपाको औपचारिक संरचनाभित्र आउने पक्का भएको छ ।’ उनका अनुसार रावलसहितका नेताहरू मोहन गौतम, जीवन राई, कृष्णराज सुवेदी लगायतसँग पछिल्ला दिनमा निरन्तर छलफल हुँदै आएको थियो ।
रावलको अभियान र नेकपाबीच यही साता एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा हुने तयारी छ । उक्त एकतापछि रावल पक्षका केही नेताहरूलाई पार्टीको केन्द्रीय कमिटी, राजनीतिक समिति लगायतका संरचनामा जिम्मेवारी दिइने सहमति भएको छ। रावल पक्षबाट सिफारिस गरिएका नामहरूमा सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्व प्रदेशसभा सदस्य हर्क कुँवर, अछामका प्रकाश शाह, र दूधकला विष्ट लगायत एक दर्जनभन्दा बढी नेताहरू रहेका छन् । पार्टी एकताको सहमतिअनुसार, डा. रावललाई नेकपाको ‘हाइ कमाण्ड’ अर्थात केन्द्रीय नेतृत्व तहमा समावेश गरिने भएको छ ।
अहिलेको पार्टी वरीयतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, र नारायणकाजी श्रेष्ठ पछिका तहमा भीम रावललाई राख्ने अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ । नेकपामा हाल तीन जना पूर्व प्रधानमन्त्री (प्रचण्ड, नेपाल, खनाल) र तीन जना पूर्व उपप्रधानमन्त्री (वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा) रहेका छन् । महरा भने हाल कानूनी मुद्दाका कारण हिरासतमै छन् । यसैबीच, नेकपाका महामन्त्री घनश्याम थापाले पार्टी समर्थकहरूलाई आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आग्रह गरेका छन् ।
