`

भीम रावलको चेतावनी : हेलिकप्टरबाट भाग्नेहरूलाई अब जनताले जवाफ दिनेछन्

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । पार्टीको सुदूरपश्चिमस्तरीय एकता सन्देश सभालाई शुक्रबार सम्वोधन गर्दै उनले ‘जनतामा धम्की र डर फैलाउने शैली अपनाउने नेताहरूबाट सचेत हुनुपर्ने समय आएको’ बताएका हुन् ।

रावलले जेनजी आन्दोलनका बेला तात्कालीन प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को बैठक पनि बोलाउन नसकी बालुवाटारबाट हेलिकप्टर चढेर भागेको दाबी गर्दै अहिले भने भक्तपुरमा बसेर जनता धम्क्याइरहेको आरोप लगाए । उनले भने, ‘भक्तपुरको कुनामा बसेर जनतालाई थर्काउनेहरूलाई अब रोक्ने जिम्मा जनताकै हो, नेपाली कम्युनिस्ट पार्टी त्यसका लागि तयार छ ।’

नेता रावलले अन्तरिम सरकारलाई निशाना बनाउँदै चुनावका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न ‘बाहिर रहेका गोली–गठ्ठा’ तत्काल नियन्त्रणमा लिन आग्रह गरे । उनले जेनजी र युवाहरूको आन्दोलनका वास्तविक आवाजलाई पार्टीले राजनीतिक दस्तावेज र कार्यनीतिमा समेट्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसै क्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचन-फागुन २१ वा अन्य कुनै मितिमा-जो पनि तय भए, नेपाली कम्युनिष्ट पार्टी देशको ‘प्रमुख राजनीतिक शक्ति’ बन्ने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेशका विकास चुनौती र जनसमस्यामा पार्टी जिम्मेवारीपूर्वक उभिने आश्वासन दिँदै उनले भने, ‘सिचाँइ आयोजना, नदी व्यवस्थापन, कृषि, रोजगारी-सबै क्षेत्रमा हामी दृढतापूर्वक तपाईहरूको साथमा रहनेछौं ।’ रावलले विगतमा पनि जनताले नेकपालाई ठूलो विश्वास दिएको तर सो विश्वास जोगाउने जिम्मा केपी ओलीले निर्वाह गर्न नसकेको आरोप समेत लगाए । अब उनले जनभावनालाई मूल केन्द्रमा राखेर पार्टी एकीकृत शक्ति रूपमै अघि बढ्ने बताए ।

 

नेकपा विभाजन सम्झिँदै रावलले भने–आलो घाउमा मल्हम लगाएको महसुस भयो

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउन जरुरी रहेको बताएका छन् । बुधवार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएको आरोप लगाए । नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका रुपमा अघि बढाउनु पर्ने बताए ।

उनले भने, ‘जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएर गह्रौँ मन लिएर यही ठाउँबाट छुटिएर गइएको थियो । फर्किएर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत समाहित आएका छाैं । हामीले एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका साथ हामी लाग्नुपर्छ । आगामी दिनमा हामी सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुगि छोड्नेछौँ भन्ने विश्वस छ।’

नेता रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने दाबी गरे । नेकपा विभाजनको बेला स्मरण गर्दै उक्त दिनको घाउमा मल्हम लगाएको जस्तो महसुस भएको जिकिर गरे । रावलले पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत एकता पत्रमा हस्ताक्षर गरिसकेका छन् । आजै एक सभामार्फत नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको घोषणा हुँदैछ ।

भीम रावल आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज (बुधबार) एकता घोषणा हुँदैछ । राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकता घोषणा सभा राखिएको नेकपाका नेता गणेशमान पुनले जानकारी दिए ।

रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ । रावलसँगै आज पूर्व सांसद प्रकाशबहादुर शाह पनि नेकपामा समाहित हुँदैछन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० वटा वामघटकबीच यही कात्तिक १९ गते भएको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको परिलो वरीयतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दोस्रो बरियतामा माधवकुमार नेपाल छन् । त्यस्तै तेस्रो वरीयतामा झलनाथ खनाल हुँदो चौथो वरीयतामा वामदेव गौतम र पाँचौ वरीयतामा नारायणकाजी श्रेष्ठ रहने टुंगो लागेको छ ।

छैटौँ वरीयतामा रावल रहने बताइएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको तत्कालीन नेकपाको ९ जना सचिवालय सदस्यमध्य अहिले ५ जना नेपाली कम्युनिस्ट पार्टीमै छन् । जसमा प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ थिए । त्यतिबेला रावल भने सचिवालय सदस्य थिएनन् ।

भीम रावललाई नेकपामा छैठौं वरियता

काठमाडौं । डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने निश्चित भएको छ । पर्सी (बुधबार) दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा हुन लागेको छ । नेकपा (एमाले) को पूर्व उपाध्यक्ष समेत रहेका राउललाई भित्र्याउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरेका छन् ।

रावललाई नेकपामा छैटौँ वरियता दिने सहमति भएको छ । रावलले प्रचण्ड र माधव नेपालसहित आफू निकट नेताहरूसँग छलफल गरेर एकता प्रक्रियामा जान तयार भएका छन् । पहिलो वरियता प्रचण्ड, दोस्रो वरियतामा नेपाल, तेस्रोमा झलनाथ खनाल, चौथोमा वामदेव गौतम, पाँचौमा नारायणकाजी श्रेष्ठ र छैठौं वरियता रावलको रहने बताइएको छ ।

कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालसँग भेटेको भोलिपल्टै उनले भनेका थिए, ‘मोटामोटी सहमति भयो, तर मैले भनेर मात्र हुँदैन, साथीहरुसँग छलफल गरेर निर्णय दिन्छु ।’ त्यसयता विभिन्न चरणमा भएको छलफलपछि रावल समूह नेकपासँग एकता गर्न सहमत भएको हो ।

 

 

 

नेकपामा भीम रावललाई ‘हाइ कमाण्ड’

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा एमालेका बिद्रोही नेता डा. भीम रावलले अब आफ्नो ‘मातृभूमि जागरण अभियान’ लाई प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग समाहित गर्ने अन्तिम तयारी गरेका छन् । नेकपाका युवा नेता सुदेश पराजुलीले रावल पक्षसँग भएको सहमति सार्वजनिक गर्दै भने, ‘मातृभूमि जागरण अभियान अब नेकपाको औपचारिक संरचनाभित्र आउने पक्का भएको छ ।’ उनका अनुसार रावलसहितका नेताहरू मोहन गौतम, जीवन राई, कृष्णराज सुवेदी लगायतसँग पछिल्ला दिनमा निरन्तर छलफल हुँदै आएको थियो ।

रावलको अभियान र नेकपाबीच यही साता एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा हुने तयारी छ । उक्त एकतापछि रावल पक्षका केही नेताहरूलाई पार्टीको केन्द्रीय कमिटी, राजनीतिक समिति लगायतका संरचनामा जिम्मेवारी दिइने सहमति भएको छ। रावल पक्षबाट सिफारिस गरिएका नामहरूमा सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्व प्रदेशसभा सदस्य हर्क कुँवर, अछामका प्रकाश शाह, र दूधकला विष्ट लगायत एक दर्जनभन्दा बढी नेताहरू रहेका छन् । पार्टी एकताको सहमतिअनुसार, डा. रावललाई नेकपाको ‘हाइ कमाण्ड’ अर्थात केन्द्रीय नेतृत्व तहमा समावेश गरिने भएको छ ।

अहिलेको पार्टी वरीयतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, र नारायणकाजी श्रेष्ठ पछिका तहमा भीम रावललाई राख्ने अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ । नेकपामा हाल तीन जना पूर्व प्रधानमन्त्री (प्रचण्ड, नेपाल, खनाल) र तीन जना पूर्व उपप्रधानमन्त्री (वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा) रहेका छन् । महरा भने हाल कानूनी मुद्दाका कारण हिरासतमै छन् । यसैबीच, नेकपाका महामन्त्री घनश्याम थापाले पार्टी समर्थकहरूलाई आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आग्रह गरेका छन् ।

 

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको भीम रावलको आरोप

काठमाडौं – सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।

वैदेशिक रोजगार कम्पनी भएकाहरू श्रममन्त्री, एकदम महंगो निजी स्कुल भएकाहरू शिक्षामन्त्री रहेको र नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धितलाई गृह मन्त्री बनाउन खोजिएको उनको आरोप  छ । ‘के देशमा साँच्चै सुशासन आउन लागेको हो? हामीले बहुदली व्यवस्था ल्यायौं। गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरूले रगत बगाए,’ उनले प्रश्न गरे ।

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।