अमेरिकाका लागि नेपाली राजदूत रेग्मीले दिए राजीनामा
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । २२ कात्तिकदेखि लागू हुने गरी राजीनामा दिएको भए पनि आज मंगलबार मात्रै राजीनामा दिएको बाहिरिएको हो । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट पनि दर्ता भएको थियो । सर्वोच्चले गत १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले १४ साउन २०८१ मा अष्ट्रेलियालगायत १७ मुलुकमा राजदूत नियुक्ति गरेको थियो । तीमध्ये ६ जनालाई भने निरन्तरता दिइएको छ ।
