`

अमेरिकी सरकारको लामो शटडाउन अन्त्यतर्फ, स्टपग्याप विधेयक प्रतिनिधि सभातर्फ अघि बढ्यो

Nepal One HD २५ कार्तिक २०८२ १५:५६
विश्व

वासिङ्टन । अमेरिकी सरकारको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्यतर्फ अघि बढ्दै गएको छ । सोमबार सिनेटमा स्टपग्याप कोष विधेयक ६०–४० मतले पारित भएपछि देश पुनः सञ्चालनमा फर्किने आशा देखिएको हो ।

यस विधेयकलाई समर्थन गर्न धेरै डेमोक्रेटिक सिनेटरले पार्टीको रेखा तोड्दै रिपब्लिकनहरूसँग मत दिएका थिए । अब यो विधेयक प्रतिनिधि सभामा मतदानका लागि पठाइनेछ, जहाँ रिपब्लिकनहरूको नियन्त्रण रहेको छ ।

अक्टोबर १ बाट सुरु भएको शटडाउनका कारण करिब दश लाख सङ्घीय कामदार बेतलबी बनेका थिए र विभिन्न सरकारी सेवा तथा सुविधा बन्द भएका थिए । हालै हवाई यातायातमा गम्भीर असर परेपछि दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा राजनीतिक दबाब झनै बढेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी हाम्रो देशलाई अब धेरै चाँडै पुनः खोल्नेछौँ । यो सम्झौता निकै राम्रो छ ।”

सिनेटमा मतदानपछि रिपब्लिकन नेता जोन थुनले एक्समा लेख्छन्, “यो अनावश्यक शटडाउनलाई जिम्मेवार तरिकाले अन्त्य गर्न पाउँदा म अत्यन्त सन्तुष्ट छु । यसले सङ्घीय कामदारहरूलाई तुरुन्तै भुक्तानी दिलाउनेछ र सरकार पुनः सञ्चालनमा ल्याउनेछ ।”

रिपब्लिकन विधेयकलाई समर्थन गर्ने डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले पनि एक्समा लेख्छन्, “सबैलाई खाना दिनुहोस् । हाम्रो सेना, सरकारी कर्मचारी र क्यापिटल प्रहरीलाई भुक्तान गर्नुहोस् । विमानस्थलको अराजकता अन्त्य गर्नुहोस् । देश पार्टीभन्दा ठूलो हो ।”

सिनेटबाट विधेयक पारित भएपछि अब यो प्रतिनिधि सभामा पेश हुने तयारी भइरहेको छ । मङ्गलबार राष्ट्रिय बिदा भएकाले बुधबार बिहान चाँडै सभामा छलफल अपेक्षित छ ।

सदनका सभामुख माइक जोनसनले पत्रकारहरूसँग भने, “हाम्रा लामो राष्ट्रिय दुःस्वप्न अन्त्य हुने क्रममा छ । केही डेमोक्रेटहरू अहिले अन्ततः त्यही गर्न तयार देखिन्छन्, जुन रिपब्लिकन र राष्ट्रपति ट्रम्पले हप्तौँदेखि आग्रह गर्दै आएका थिए ।”

शटडाउनका क्रममा स्थगित गरिएको सदन यस हप्ता पुनः बोलाइने उनले जानकारी दिए ।

– ‘ओबामाकेयर’ विवाद –

सिनेटमा गतिरोधको प्रमुख कारण स्वास्थ्य बीमा कार्यक्रम ‘ओबामाकेयर’ सम्बन्धी अनुदान विस्तार हो । डेमोक्रेटहरूले वर्षको अन्त्यमा सकिने बीमा अनुदानलाई निरन्तरता दिन माग गरेका थिए, तर रिपब्लिकनहरूले सरकार खुलाएपछि मात्र वार्ता गर्न सकिने अडान लिएका थिए ।

यदि अनुदान विस्तार भएन भने ‘ओबामाकेयर’ अन्तर्गत बीमा लिएका लाखौँ अमेरिकीको खर्च दोब्बर हुन सक्छ ।

आइतबार राति भएको सम्झौताअनुसार सरकार जनवरीसम्म पुनः सञ्चालन हुनेछ । केही कार्यक्रम पूरै आर्थिक वर्षका लागि वित्तपोषित हुनेछन् र ट्रम्प प्रशासनले बर्खास्त गरेका केही सङ्घीय कामदारलाई पुनः नियुक्त गरिनेछ ।

यस विधेयकले विशेष गरी चार करोड २० लाखभन्दा बढी न्यून आय भएका अमेरिकीलाई सहयोग पु¥याउने एसएनएपी खाद्य सहायता कार्यक्रमको कोष पुनःस्थापित गर्नेछ ।

सिनेटका बहुमतका नेता जोन थुनले भने, “४० दिनको अनिश्चितता पछि अन्ततः पोषण कार्यक्रम, हाम्रा दिग्गजहरू र अन्य प्राथमिक क्षेत्रहरूले पूर्ण वर्षको कोष पाउने छन् भन्नेमा म खुसी छु ।”

तर स्वास्थ्य बीमा अनुदान विस्तारको सुनिश्चितता अझै नभएको कारण केही डेमोक्रेटहरू असन्तुष्ट देखिएका छन् ।

– डेमोक्रेटभित्र विभाजन –

सम्झौता समर्थन गर्ने आठ डेमोक्रेटमध्येकी सिनेटर जीन साहिनले भने, “सिनेटले लाखौँ अमेरिकीको स्वास्थ्य हेरचाह सुरक्षित गर्ने दिशामा ठूलो कदम चालेको छ ।” उनको भनाइमा यो सम्झौताले अल्पमतमा रहेका डेमोक्रेटहरूलाई पनि स्वास्थ्य हेरचाह विषयमा मतदान आह्वान गर्ने अधिकार दिएको छ ।

तर अनुदान विस्तारको ग्यारेन्टी नभएकाले धेरै डेमोक्क्रेटहरू असन्तुष्ट बनेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले एक्समा लेखेका छन्, “दयनीय निर्णय ।”

सिनेटका शीर्ष डेमोक्रेट चक शुमरले भने उक्त उपायलाई अस्वीकार गर्दै भने, “यो प्रस्तावले स्वास्थ्य सेवा सङ्कटलाई समाधान गर्न सक्दैन । हाम्रो लडाइँ जारी रहनेछ ।”

उनको कमजोर नेतृत्वका कारण पार्टी एकताबद्ध हुन नसकेको भन्दै केही सांसदहरूले शुमरको आलोचना गरेका छन् । म्यासाचुसेट्सका प्रतिनिधि सेठ मौल्टनले भने, “आज राति फेरि प्रमाणित भयो कि हामीलाई नयाँ नेतृत्व किन आवश्यक छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *