नेकपा विभाजन सम्झिँदै रावलले भने–आलो घाउमा मल्हम लगाएको महसुस भयो
काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउन जरुरी रहेको बताएका छन् । बुधवार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएको आरोप लगाए । नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका रुपमा अघि बढाउनु पर्ने बताए ।
उनले भने, ‘जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएर गह्रौँ मन लिएर यही ठाउँबाट छुटिएर गइएको थियो । फर्किएर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत समाहित आएका छाैं । हामीले एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका साथ हामी लाग्नुपर्छ । आगामी दिनमा हामी सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुगि छोड्नेछौँ भन्ने विश्वस छ।’
नेता रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने दाबी गरे । नेकपा विभाजनको बेला स्मरण गर्दै उक्त दिनको घाउमा मल्हम लगाएको जस्तो महसुस भएको जिकिर गरे । रावलले पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत एकता पत्रमा हस्ताक्षर गरिसकेका छन् । आजै एक सभामार्फत नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको घोषणा हुँदैछ ।
