`

दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा

Nepal One HD २६ कार्तिक २०८२ १६:४७
विश्व

श्रीनगर (भारत) । भारतीय सुरक्षा निकायहरूले यस हप्ता नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको सिलसिलामा विवादित काश्मीर क्षेत्रमा व्यापक छापा मार्दै धेरै सन्दिग्धलाई हिरासतमा लिएको अधिकारीहरूले बुधबार जनाएका छन् ।

सोमबार राजधानी नयाँदिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए । अधिकारीहरूले मङ्गलबार यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधिका रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्, जसअनुसार अनुसन्धानकर्ताहरूलाई व्यक्तिहरूलाई पक्राउ गर्न वा हिरासतमा लिन विशेष कानूनी अधिकार प्राप्त हुन्छ ।

१७औँ शताब्दीमा निर्माण गरिएको लाल किल्ला भारतको प्रमुख ऐतिहासिक र सांस्कृतिक प्रतीक हो । यहाँ प्रत्येक वर्ष अगस्ट १५ का दिन प्रधानमन्त्रीहरूले स्वतन्त्रता दिवसको सम्बोधन गर्ने परम्परा छ ।

यदि यो विस्फोट जानाजानी गरिएको आक्रमण भएको प्रमाणित भयो भने यो सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक घटना हुनेछ ।

काश्मीरको दक्षिणी पुलवामा जिल्लामा मङ्गलबार राति गरिएको शृङ्खलाबद्ध छापामा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

अधिकारिहरूका अनुसार सोमबारको विस्फोट त्यसअघि केही घण्टा मात्र अघि भारतीय नियन्त्रित काश्मीरमा प्रहरीले नयाँदिल्ली बाहिरी क्षेत्र फरीदाबादमा सञ्चालन भइरहेको सन्दिग्ध आतङ्कवादी सेललाई ध्वस्त पारेको घोषणा गरेपछि भएको हो । फरीदाबादमा दुई चिकित्सकसहित कम्तीमा सात जनालाई पक्राउ गरिएको थियो । प्रहरीले ठूलो मात्रामा हतियार र बम बनाउने सामग्री जफत गरेको बताइएको छ ।

भारतीय समाचार संस्थाहरूका अनुसार दिल्ली विस्फोट उक्त सेलसँग प्रत्यक्ष रूपमा जोडिएको हुन सक्ने आशङ्का गरिएको छ । तर प्रहरी निकायहरूले चलिरहेको अनुसन्धानलाई कारण देखाउँदै यस विषयमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

मुद्दासँग परिचित चार काश्मीरी प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बताएका अनुसार यो अनुसन्धान अक्टोबर १९ मा श्रीनगर वरपर भारतविरोधी पोस्टरहरू देखिएपछि सुरु भएको थियो । ती पोस्टरहरूले काश्मीरमा तैनाथ भारतीय सैनिकहरूमाथि आक्रमण गर्ने धम्की दिएका थिए ।

अधिकारीहरूले सिसिटिभी फुटेजको सहयोगमा सन्दिग्धहरूको पहिचान गरिएको र सुरुमा कम्तीमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । पछिल्लो तीन हप्तामा सोधपुछका क्रममा भारतका दुई सहरमा कार्यरत दुई काश्मीरी चिकित्सक र अन्य दुई स्थानीय व्यक्तिलाई पनि हिरासतमा लिइएको छ ।

स्थानीय सञ्चार माध्यमहरूले उक्त विस्फोटमा प्रयोग गरिएको कारको चालक काश्मीरको भएको दाबी गरेका छन् । भारतीय समाचार संस्थाहरूले फरीदाबादको मेडिकल कलेजमा कार्यरत एक काश्मीरी चिकित्सक त्यही कारमा सवार थिए कि थिएनन् भन्नेबारे प्रहरी अनुसन्धान चलिरहेको जनाएका छन् ।

हालसम्म प्रहरी निकायहरूले यी दाबीहरूको पुष्टि गरेका छैनन् । तर भारतीय सञ्चार माध्यमहरूका अनुसार सम्भवतः चिकित्सकले गिरफ्तारीबाट बच्न जानाजानी विस्फोट गराएको वा अनजानमा विस्फोटक पदार्थ ओसार्ने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धानकर्ताहरूले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा कारमा भएको यान्त्रिक विफलता जस्ता सबै कोणबाट अनुसन्धान गरिरहेको’ जानकारी दिए ।

यसबीच, पुलवामा जिल्लाका चिकित्सकमध्ये एकजना सन्दिग्धकी बहिनी शगुफ्ता जानले गत शुक्रबारदेखि आफ्नो भाइसँग सम्पर्क हुन नसकेको बताए । “उनले शुक्रबार हामीलाई फोन गरेर घर आउँछु भनेका थिए । तीन दिनपछि आउने बताएको थिए, तर त्यसपछि कुनै सम्पर्क भएन”, उनले भने ।

उनका अनुसार सोमबार राति प्रहरी अधिकारीहरू घरमै आएर चिकित्सककी आमासँगै उनका दुई दाजुभाइलाई पनि सोधपुछका लागि साथमा लगेका छन् ।

भारतीय अधिकारीहरूले भने अनुसन्धान संवेदनशील भएकाले थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *