निर्वाचन आयोग पुगेर सुदनको चेतावनी : हाम्रो माग पूरा नभएसम्म कसैले चुनाव–चुनाव भन्न पाइँदैन
काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् । मतदाता नामावली संकलनबारे बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका उनले जेनजी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको बताए । आफू कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफू नलड्ने पनि उनले बताएका छन् ।
‘दल दर्ताको कुरा चाहिँ म आफै छक्क परिराको हुन्छु । कहिले कुलमानजीको पार्टीमा भन्छ, अर्को स्क्रोल गर्यो बालेनकोमा गयो रे भन्छ । फेरि सुमनामा गयो रे भन्नु हुन्छ । हाम्रो कुरा चाहिँ–हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं ह्वीच इज क्लियर ! जेनजीको माग पूरा नभएसम्म कसैले पनि चुनाव–चुनाव भन्न पाइँदैन । ८४ को चुनाव सार्नलाई हामी लडेको होइन ।’
गृहमन्त्रीले राष्ट्रपति कार्यालयमा आफूसँग कानूनी सल्लाहकार भएर जाँदा गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको सुधनको भनाइ छ । जनताको चाहना र इच्छाअनुसार गृहमन्त्री फेरिनु पर्ने जरुरी रहेको उनको भनाइ छ । निर्वाचनको तयारीबारे बुझ्न र आफ्ना कुरा सुनाउन गुरुङ समर्थित जेनजी प्रतिनिधिहरूको एक टोली आज कान्तिपथस्थित आयोगको कार्यालय पुगेको हो । टोलीमा रवीन्द्र बानियाँ, अनिल बानियाँलगायत २५ जना सहभागी रहेको बताइएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उनीहरूले चुनावको तयारी लगायतका विषयमा चासो राखेका छन् । त्यसक्रममा गुरुङले आयोगले ढिलासुस्ती गरेको भन्दै चर्को असन्तुष्टि जनाएको बताइएको छ । हिमाली जिल्लामा नामावली संकलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन पनि उनले माग गरे ।
जवाफमा कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसप्रति ध्यानाकर्षण भएको बताउँदै सम्भव भएसम्म माग पूरा गर्ने प्रतिवद्धता जनाएको बताइन्छ । जेन–जीको माग सम्बोधन नभएसम्म चुनाव गर्न नदिने गुरुङको चेतावनी रहँदै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेकोमा सरकारसँग उनी रुष्ट छन् । यसैलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका गुरुङले आज पनि अर्याल नेकपा एमालेको नेता जस्तो हुँदै गएको टिप्पणी गरे ।
