`

दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ : गृहमन्त्री अर्याल

Nepal One HD २७ कार्तिक २०८२ १४:३१
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् । आज (बिहीबार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले जानकारी गराएका हुन् । समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए । ‘दल खोल्ने हो की, चुनाव लड्ने हो कि, के हो ?’, श्रेष्ठको प्रश्न थियो । उक्त प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले आफूले दल पनि नखोल्ने र चुनाव पनि नलड्ने जवाफ दिएका छन् । ‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको भनाइ छ ।

‘स्थिति सामान्य बनाउँदै सरकार चुनावी वातावरण बनाउन केन्द्रित छ’
गृहमन्त्री अर्यालले जेनजी विद्रोहपछि स्थिति सामान्य बनाउँदै सरकार चुनावमा केन्द्रित भएको बताएका छन् । निर्वाचनको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै यो सरकार गठन नै चुनाव गर्नको लागि बनेको बताए । उनले भने, ‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ । सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौं । सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौं । सुशासनको मामिलामा सचेत छौं । माग सम्बोधन गर्छौ ।’ जेनजी आन्दोलनबारे उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको भन्दै शहीदको सपनाभन्दा आफूहरू बाहिर नजाने बताएका छन् ।

मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो । सरकारको तर्फबाट समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए ।

मन्त्री अर्यालसँग समितिले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएको छ । समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरकिो मनोबल उच्च बनाउँदै जेन—जी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजी गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । उनले कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिए ।

उनले भने, ‘आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरीको मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजी गरी कारबाहीको दायरामा ल्याउन, जेलबाट भागेका फरार कैदीबन्दीलाई पुनः जेलमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई निर्देशन दिने ।’ समितिले शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा सरकारसँग छलफल गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *