`

दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् । आज (बिहीबार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले जानकारी गराएका हुन् । समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए । ‘दल खोल्ने हो की, चुनाव लड्ने हो कि, के हो ?’, श्रेष्ठको प्रश्न थियो । उक्त प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले आफूले दल पनि नखोल्ने र चुनाव पनि नलड्ने जवाफ दिएका छन् । ‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको भनाइ छ ।

‘स्थिति सामान्य बनाउँदै सरकार चुनावी वातावरण बनाउन केन्द्रित छ’
गृहमन्त्री अर्यालले जेनजी विद्रोहपछि स्थिति सामान्य बनाउँदै सरकार चुनावमा केन्द्रित भएको बताएका छन् । निर्वाचनको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै यो सरकार गठन नै चुनाव गर्नको लागि बनेको बताए । उनले भने, ‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ । सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौं । सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौं । सुशासनको मामिलामा सचेत छौं । माग सम्बोधन गर्छौ ।’ जेनजी आन्दोलनबारे उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको भन्दै शहीदको सपनाभन्दा आफूहरू बाहिर नजाने बताएका छन् ।

मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो । सरकारको तर्फबाट समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए ।

मन्त्री अर्यालसँग समितिले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएको छ । समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरकिो मनोबल उच्च बनाउँदै जेन—जी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजी गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । उनले कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिए ।

उनले भने, ‘आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरीको मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजी गरी कारबाहीको दायरामा ल्याउन, जेलबाट भागेका फरार कैदीबन्दीलाई पुनः जेलमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई निर्देशन दिने ।’ समितिले शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा सरकारसँग छलफल गरेको हो ।

प्रधानमन्त्री कार्कीको अपिल : चुनाव गराउन सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताएकी छिन् ।

आज (शनिबार) राष्ट्रपति निवासमा चार वटै सुरक्षा निकायसँगको छलफलपछि उनले एक्समा लेखेकी छिन्, ‘तयारी अझै द्रुततर गतिमा अघि बढाइँदैछ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं ।’

प्रधानमन्त्री कार्कीका अनुसार राजनीतिक तहबाटै चुनावको वातावरण बनाउन पहल सुरु भइसकेको छ र दलहरूसँग संवादको सुरुवात भएको छ। ‘चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ,’ उनले लेखेकी छिन्, ‘राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ ।’

छलफलमा सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिएको समेत कार्कीले उल्लेख गरेकी छिन् । ‘सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिनु भएको छ,’ उनले भनेकी छिन्, ‘चुनावको वातावरण बनाउन भइरहेका प्रयासहरूको समीक्षा पनि गरिएको छ ।’

 

फागुन २१ भित्र चुनाव गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने मुख्य लक्ष्यका साथ आफ्नो अन्तरिम सरकारले काम गरिरहेको बताएकी छन् । आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ६ महिनाभित्र निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै निर्वाचनका लागि आवश्यक जनशक्ति, बजेट, सामग्री र सुरक्षाको तयारी सुरु भइसकेको बताइन् ।

उनले १८ वर्षका जेनजी युवा पुस्तालाई मताधिकार प्रदान गर्न र मतदाता नामावली अद्यावधिक गर्न अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरिसकिएको जानकारी दिइन् । विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि मतदानमा सहभागी गराउने सम्भावनाबारे निर्वाचन आयोगसँग छलफल भइरहेको उनले उल्लेख गरिन् ।

‘स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले देशैभर शान्तिपूर्ण वातावरण कायम राख्न सबैलाई आग्रह गरेकी छन् । उनले ६ महिने चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नरहेको स्वीकार गर्दै आफ्नो मुख्य ध्यान निर्वाचन सम्पन्न गराउनमा केन्द्रित हुने स्पष्ट पारिन् ।