अध्यक्ष ढकाललाई धादिङको कोशेली एक डाली मास
धादिङ । धादिङको स्थानीय रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई एक डाली कालो मास उपहारस्वरूप प्रदान गरिएको छ । नीलकण्ठ नगरपालिकास्थित एक समारोहमा बिहीबार आयोजित यो विशेष सम्मान कार्यक्रममा धादिङका उद्योगी तथा स्थानीय उत्पादन प्रेमीहरूबीच ‘एक डाली मास’ नै मुख्य आकर्षण बनेको थियो ।
धादिङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको आफ्नो ३२औँ वार्षिक साधारणसभाका प्रमुख अतिथि अध्यक्ष ढकाललाई ‘मायाको चिनो’ स्वरूप चोयाले बुनेको डाली र त्यसमा भरिएको धादिङकै सुप्रसिद्ध कालो मास प्रदान गरिएको थियो । स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले दिइएको यो उपहारले अतिथि र उपस्थितहरूबीच विशेष ध्यान खिचेको संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिए ।
धादिङ, विशेष गरी मलेखु क्षेत्र, देशभरै मास तथा विभिन्न गेडागुडीहरूको प्रमुख केन्द्रका रूपमा परिचित रहँदै आएको छ । काठमाडौं–तराई एवं अरू क्षेत्रमा आउने–जाने यात्रुहरूका लागि यहाँको मास ‘विशेष कोशेली’ को रूपमा लोकप्रिय छ । यही पहिचानलाई झनै सबल बनाउँदै संघले यो उत्पादनलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न उपहारमार्फत् सन्देश दिन खोजेको अध्यक्ष डल्लाकोटीले बताए ।
उपहार ग्रहण गर्दै अध्यक्ष ढकालले स्थानीय र स्वदेशी वस्तुको प्रवर्द्धन गर्न आफू सदैव प्रतिवद्ध रहेको उल्लेख गरे । उनले स्थानीय उत्पादनले आयात प्रतिस्थापन मात्र होइन, निर्यात प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता पहलले उद्योग, व्यवसाय र स्थानीय अर्थतन्त्र दुवैलाई ऊर्जा प्रदान गर्ने बताए । ढकालले चोयाको डालीमार्फत् प्लास्टिकजन्य वस्तुको वैकल्पिक उपयोगबारे पनि महत्वपूर्ण टिप्पणी गरे । उनका अनुसार ‘नेपालमा प्लास्टिकका झोला तथा भाँडाकुँडाहरूले स्थानीय बाँस, निगालो तथा चोयाबाट बन्ने परम्परागत सामग्रीहरू विस्थापित गरिरहेका बेला यस्ता उपहारहरूले संरक्षण र पुनःप्रयोगको सन्देश दिन्छन् ।’
यसबाहेक, विगतमा पनि धादिङका उद्योगी–व्यवसायीहरूले रैथाने तथा स्वदेशी उत्पादनहरूको प्रवर्द्धनका लागि अध्यक्ष ढकाललाई यस्तै प्रतीकात्मक उपहारहरू प्रदान गर्दै आएका छन् । यस पटकको ‘एक डाली मास’ले स्थानीय पहिचान, उत्पादन क्षमता र बजारिकरणको सम्भावनालाई पुनः राष्ट्रिय मञ्चमा उभ्याएको सहभागीहरूको अभिमत रह्यो । कार्यक्रम सम्पन्नसँगै अतिथिहरूले धादिङको मास तथा अन्य स्थानीय उत्पादनको महत्त्वबारे खुलेर चर्चा गरेका थिए, जसले जिल्लाको कृषि–व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
