नेकपालाई सबै पुस्ताको साझा बनाउँछौं : झलनाथ खनाल
काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सबै पुस्ताले अपनाएको साझा राजनीतिक घर बनाउने अभियान सुरु भएको घोषणा गरेका छन् । पेरिडाँडामा आइतबार सम्पन्न पूर्व पदाधिकारीहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवा सहभागिता, संगठन मजबुतीकरण र कम्युनिष्ट एकतालाई नै पार्टीको प्रमुख कार्यदिशा बनाइने स्पष्ट पारे ।
खनालले अबको नेकपा केवल पूर्व–नेतृत्व केन्द्रित नभई किशोरदेखि वृद्धसम्म सबैलाई समेट्ने ‘समग्र पुस्ताको पार्टी’ का रूपमा अघि बढ्ने दाबी गरे। यसका लागि प्रदेश–प्रदेशमा सन्देश सभाहरू आयोजना गर्दै आधारस्तरमा सक्रियता वृद्धि गरिने उनको भनाइ छ ।
‘नेपाली विशेषताको समाजवादतर्फ पार्टीलाई उन्मुख गराउने हाम्रो अर्जुनदृष्टि हो । यो एकता कसैको विरोधमा होइन, आम जनतालाई जागृत र संगठित गर्दै समाजवादको बाटो पहिल्याउने अभियान हो’, खनालले भने ।
उनका अनुसार नेकपाभित्र मात्र होइन, बाहिरका केही राजनीतिक दलहरूसँग पनि सम्भावित एकताको विषयमा निरन्तर संवाद भइरहेको छ । उनले एकतालाई ‘राजनीतिक प्रतिष्पर्धा’ होइन ‘आन्दोलन विस्तार’ का रूपमा व्याख्या गर्दै युवालाई प्रोत्साहन, जिम्मेवारी र नेतृत्वमा उन्नत बनाउने कार्यसूचीलाई सर्वोच्च प्राथमिकता दिने प्रतिवद्धता जनाए ।
खनालले नेपाली विशेषतामा आधारित समाजवाद निर्माण नै दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै, भने, ‘अबको कम्युनिष्ट पार्टी पुस्तान्तरसँगै विचारको निरन्तरता सुनिश्चित गर्ने संरचना निर्माणतर्फ अघि बढ्छ ।’ नेकपाको बहुपुस्तीय सहभागिता, संगठन विस्तार र एकतामुखी रणनीतिलाई लिएर अबको केही समय पार्टीभित्र र बाहिर दुबै क्षेत्रमा राजनीतिक चहचल बढ्ने संकेत खनालका अभिव्यक्तिबाट देखिन्छ ।
