ईपीएस भाषा परीक्षा आजदेखि
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाको भाषा परीक्षा आज (सोमबार) देखि सुरु हुँदैछ । पहिलो चरणमा सोमबार उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुन लागेको हो । उत्पादन क्षेत्रमा ६७ हजार जनाले भाषा परीक्षाको लागि आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जानको लागि एकलाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।
दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने बताइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् । दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आएका थिए । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले आजदेखि सुरु भएको भाषा परीक्षा दुई महिनाभित्र सक्ने जनाएको छ ।
