`

शीर्ष नेताको घरमा एकाध करोड हुनु ठूलो कुरा होइन : प्रचण्ड

Nepal One HD १ मंसिर २०८२ ११:५१
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरबाट जम्मा एक लाख रुपैयाँ भेटिएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले धेरै रकम घरमै नराख्ने गरेको दाबी गरेका छन् । तर सुरक्षा कारण देखाउँदै १०–५ लाखका रुपैंयाँ साथीभाइका घरमा राख्ने गरेको स्वीकारोक्तिले भने राजनीतिक प्रश्न खडा गरेको छ ।

हिमालयन टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा प्रस्तोता निमेष बन्जाडेको लगातार कडा प्रश्नकाबीच प्रचण्डले पैसा व्यवस्थापनबारे खुलेर बोल्न बाध्य बनेका थिए । आफ्नो घरमा ठूलो परिमाणको पैसा भेटिएको हल्ला असत्य भएको जिकिर गर्दै प्रचण्डले भने, ‘प्रचण्डकोमा देखिएको भनेको जम्मा एक लाख रुपैयाँ हो । अरुको घरमा देखिएको पैसा मेरो भनिएको झूटो प्रचार हो ।’

अघिल्लो रात दुई ट्रक पैसा अन्यत्र लैजाने काम भएको भनी एक पूर्व प्रहरी अधिकारीले आरोप लगाएको विषयमा उनले कडै प्रतिक्रिया व्यक्त गर्दै यसलाई ‘१०० प्रतिशत झूटो’ र ‘नेपालका नेताहरूमाथिको ठूला षडयन्त्रको हिस्सा’ भनेका छन् । प्रस्तोताले राजनीतिक दल सञ्चालन, कार्यकर्ता व्यवस्थापन र दैनिक खर्चको सन्दर्भमा शीर्ष नेताको घरमा एकाध करोड हुनु असामान्य नहोला कि भन्ने प्रश्न उठाएपछि प्रचण्डले भने, ‘त्यो ठूलो कुरा होइन । तर मैले घरमा पैसा राख्दैनथें । विभिन्न साथीहरुकैमा १०–५ लाख गरेर राखिदिन्थें । यति गरे सुरक्षित पनि हुन्छ र पार्टीभित्र प्रश्न पनि उठ्दैन ।’

उनले साथीहरूलाई रकम कुन ठाउँमा छ भन्ने थाहा समेत रहेको बताएका छन् । यो स्वीकारोक्तिले शीर्ष नेतृत्वको वित्तीय पारदर्शिता कति अस्पष्ट छ भन्ने प्रश्न फेरि एक पटक उजागर गरेको छ । कार्यक्रममा प्रचण्डकी छोरी गंगा दाहालको घरमा भेटिएको शव तथा मृतकले पैसाको झोला समाएको भनिएको हल्लाबारे पनि प्रश्न उठ्यो । प्रचण्डले अनुसन्धान जारी रहेको भन्दै पूर्ण जानकारी खुलाउन नमिल्ने बताए । तर उनले त्यहाँ केही रकम भएको स्वीकार गरे । ‘केही पैसा थियो होला त्यहाँ । पक्कै थियो होला । मैले विभिन्न ठाउँमा पैसा राख्ने सन्दर्भमा त्यहाँ पनि पुगेको होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *