मन्त्री पुनको आग्रह : सबै माग पूरा गर्न सक्दिनँ, आफ्नै सरकार बनाएर पूरा गर्नुहोस्
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवा वर्गलाई अब आफ्नो गाउँ फर्केर आगामी निर्वाचनमा भाग लिएर आफ्नै सरकार बनाएर माग पूरा गर्न आग्रह गरेका छन् । आज (सोमवार) सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० समूहले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले सबै माग तत्काल पूरा गर्न सकिने अवस्था नभएको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरूले आफै चुनाव लड्नु पर्छ, सरकार बनाउनु पर्छ र त्यसपछि कुरा आफैंले अगाडि बढाउनु पर्छ । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन ।’ मन्त्री पुनका अनुसार, मन्त्रालयमा आएर मात्र माग राख्ने तर गाउँ–गाउँमा गएर सक्रिय नभएको अवस्थामा मागहरू पुरा गर्न सकिँदैन । उनले युवाहरुलाई चेतावनी दिए, ‘तिमीहरूको माग मात्र पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्छ । अब जेनजीका भाइ बहिनीहरूले काठमाडौँ बस्न छोडेर आफ्नै गाउँमा गएर युवा नेताहरू उठाएर यस्ता माग पूरा गर्नुपर्छ । केही मागहरू विचार गर्न सकिन्छ, तर सबै माग पूरा गर्न सकिँदैन ।’
जेन–जी २.० ले १६ वर्षको उमेरमा एसईई पास गरी सिटिइभिटीमा अध्ययन गर्दै देश–विदेशमा काम गर्ने विद्यार्थीहरूको जीवनयापन र देश विकासमा योगदान सम्बन्धी प्राविधिक शिक्षा प्रणालीका समस्याहरू समाधान गर्न एक हप्ताभित्र अल्टिमेटम दिएको थियो । विद्यार्थीहरूले समयमा माग पूरा नगरेको खण्डमा त्यसको जिम्मेवारी सिटिइभिटीले लिनुपर्ने बताएका छन् । त्यस्तै यसै वर्ष सिटिइभिटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहने करिब १० हजार विद्यार्थीका लागि अध्ययनको व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् ।
