`

प्रतिनिधिसभा पुनर्स्थापनाबारे कांग्रेस–एमालेको सभामुखसँग छलफल

Nepal One HD १ मंसिर २०८२ १८:१९
अर्थ समाचार

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना र आगामी निर्वाचनसम्बन्धी अनिश्चितता बढ्दै गएको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) का सचेतकहरूले सभामुख देवराज घिमिरेसँग अनौपचारिक भेटघाट गरी राजनीतिक विकल्पबारे विस्तृत कुराकानी गरेका छन् ।

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले भेट गरेका हुन् । कांग्रेस सचेतक घिमिरेका अनुसार ‘चिया–कफी भेट’ भनिए पनि वार्ताको केन्द्रबिन्दु हालै विघटित प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी विषय नै रह्यो ।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले आफू प्रतिनिधिसभा पुनर्स्थापनाको स्पष्ट पक्षमा रहेको दोहोर्‍याएका छन् । घिमिरेले भने, ‘निर्वाचनमा जानैपर्छ भने पनि संविधान संशोधन आवश्यक छ, त्यसका लागि संसद् पुनर्स्थापना हुनैपर्छ ।’ उनले पुनर्स्थापनाका लागि दलभित्रबाटै दबाब बढिरहेको बताउँदै, कांग्रेसका ४६ र एमालेका ३२ पूर्व सांसदको हस्ताक्षर संकलन भइसकेको जानकारी दिए ।

२७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि फागुन २१ मा चुनावरुपी मिति तोकिएको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ र ६ माघमा उम्मेदवारी दर्ता हुने कार्यसूची पारित गरिसकेको छ । यसैबीच, दल दर्ताका लागि आजदेखि १० मंसिरसम्मको समय सीमा तय गरिएको छ । पहिलो दिन नै रास्वपा, नेमकिपालगायत दलहरूले आयोगमा निवेदन दर्ता गरिसकेका छन् ।

तर प्रमुख दुई ठूला पार्टी कांग्रेस र एमालेभित्र पनि निर्वाचन वा पुनस्र्थापना— कुन मार्ग उचित भन्नेबारे आन्तरिक बहस तीव्र छ । कांग्रेस केन्द्रीय समितिले यसबारे औपचारिक निर्णय गर्न सकेको छैन भने एमालेले विघटनलाई असंवैधानिक भनी पुनर्स्थापनातर्फ झनै दृढ देखिएको छ।

राजनीतिक वातावरण झनै जटिल बन्दै गएपछि एमालेले मंगलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा विघटित प्रतिनिधिसभा संसदीय दलको बैठक बोलाएको छ । बैठकमा ‘देशमा उत्पन्न असामान्य परिस्थिति र यसको लोकतान्त्रिक–संवैधानिक समाधान’ विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

एकातिर निर्वाचन आयोग तयारी मोडमा छ भने अर्कोतिर प्रमुख दलहरूले नै प्रतिनिधिसभा पुनर्स्थापना विकल्पलाई खुला राखेका छन् । सभामुखसँग भएको कांग्रेस–एमालेको समन्वित कुराकानीले राजधानीको राजनीतिक प्रभावक्षेत्रमा नयाँ तरंग ल्याएको छ । अब संसद् पुनर्स्थापना तर्फ राजनीतिक सहमति बन्दै जाने हो कि निर्धारित मितिमै निर्वाचन प्रक्रिया अघि बढ्छ–केही दिनभित्रै दलहरूको औपचारिक निर्णयले देशको राजनीतिक मार्गचित्र स्पष्ट पार्ने आँकलन गरिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *