`

काठमाडौं महानगरको राजस्व संकलन बढ्यो, आन्तरिक कर भने घट्यो

Nepal One HD ३ मंसिर २०८२ ११:४१
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौं महानगरपालिकाले कुल राजस्व संकलनमा वृद्धि गर्न सफल भएको छ । कात्तिक मसान्तसम्म महानगरले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार रुपैयाँभन्दा बढी राजस्व उठाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५ करोड ६५ लाख रुपैयाँ बढी हो ।

यो वर्ष महानगरले कुल १५ अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष १२ अर्ब ९० करोडको लक्ष्य निर्धारण गरिएको थियो । कुल राजस्व बढे पनि आन्तरिक करतर्फको आम्दानी भने घटेको छ । चालु वर्षको पहिलो चौमासिकमा आन्तरिक कर शीर्षकबाट १ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड २० लाख रुपैयाँले कम हो । यस गिरावटको मुख्य कारण सम्पत्ति कर संकलनमा आएको कमी हो । गत वर्ष पहिलो चौमासिकमा ५० करोड ३१ लाख रुपैयाँ उठेको सम्पत्ति कर यस वर्ष झरेर ४२ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।

राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार, गत वर्ष मालपोत कार्यालयले तोकेको मूल्यांकनका आधारमा सम्पत्ति कर लिने निर्णय गरिएका कारण ठूलो भवन भएका करदाताबाट उठ्ने कर असाधारण रूपमा बढेको थियो । तर साना घरधनीहरूबाट गुनासो आएपछि कार्यपालिका बैठकले पुनः पुरानै दरमा कर निर्धारण गर्ने निर्णय गरेकाले यस वर्ष कर समायोजन गर्दा रकम कम देखिएको उनको भनाइ छ । चार महिनाको अवधिमा सबैभन्दा धेरै वृद्धि बहाल करमा देखिएको छ । गत वर्ष ९४ करोड ८५ लाख रुपैयाँ उठेको बहाल कर यस वर्ष उकासिँदै १ अर्ब २ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

सर्वोच्च अदालतले २०८२ जेठ २० गते बहाल कर स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भन्दै फैसला गरेपछि संघ सरकारको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको कर अब महानगरले नै असुल गर्न थालेको अधिकारीको भनाइ छ । यसैले बहाल करको आयत बढेको हो ।व्यवसाय कर संकलनमा पनि हल्का वृद्धि देखिएको छ । गत वर्ष २२ करोड ८७ लाख रुपैयाँ उठेको व्यवसाय कर यस वर्ष बढेर २३ करोड ३२ लाख रुपैयाँ पुगेको छ । आन्तरिक कर घटे पनि अन्य शीर्षकमा राजस्व बढेका कारण महानगरको समग्र राजस्व संकलन अघिल्लो वर्षभन्दा उच्च छ । लक्ष्यअनुसार राजस्व वृद्धि हुने महानगरको अपेक्षा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *