`

काठमाडौं महानगरको राजस्व संकलन बढ्यो, आन्तरिक कर भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौं महानगरपालिकाले कुल राजस्व संकलनमा वृद्धि गर्न सफल भएको छ । कात्तिक मसान्तसम्म महानगरले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार रुपैयाँभन्दा बढी राजस्व उठाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५ करोड ६५ लाख रुपैयाँ बढी हो ।

यो वर्ष महानगरले कुल १५ अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष १२ अर्ब ९० करोडको लक्ष्य निर्धारण गरिएको थियो । कुल राजस्व बढे पनि आन्तरिक करतर्फको आम्दानी भने घटेको छ । चालु वर्षको पहिलो चौमासिकमा आन्तरिक कर शीर्षकबाट १ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड २० लाख रुपैयाँले कम हो । यस गिरावटको मुख्य कारण सम्पत्ति कर संकलनमा आएको कमी हो । गत वर्ष पहिलो चौमासिकमा ५० करोड ३१ लाख रुपैयाँ उठेको सम्पत्ति कर यस वर्ष झरेर ४२ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।

राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार, गत वर्ष मालपोत कार्यालयले तोकेको मूल्यांकनका आधारमा सम्पत्ति कर लिने निर्णय गरिएका कारण ठूलो भवन भएका करदाताबाट उठ्ने कर असाधारण रूपमा बढेको थियो । तर साना घरधनीहरूबाट गुनासो आएपछि कार्यपालिका बैठकले पुनः पुरानै दरमा कर निर्धारण गर्ने निर्णय गरेकाले यस वर्ष कर समायोजन गर्दा रकम कम देखिएको उनको भनाइ छ । चार महिनाको अवधिमा सबैभन्दा धेरै वृद्धि बहाल करमा देखिएको छ । गत वर्ष ९४ करोड ८५ लाख रुपैयाँ उठेको बहाल कर यस वर्ष उकासिँदै १ अर्ब २ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

सर्वोच्च अदालतले २०८२ जेठ २० गते बहाल कर स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भन्दै फैसला गरेपछि संघ सरकारको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको कर अब महानगरले नै असुल गर्न थालेको अधिकारीको भनाइ छ । यसैले बहाल करको आयत बढेको हो ।व्यवसाय कर संकलनमा पनि हल्का वृद्धि देखिएको छ । गत वर्ष २२ करोड ८७ लाख रुपैयाँ उठेको व्यवसाय कर यस वर्ष बढेर २३ करोड ३२ लाख रुपैयाँ पुगेको छ । आन्तरिक कर घटे पनि अन्य शीर्षकमा राजस्व बढेका कारण महानगरको समग्र राजस्व संकलन अघिल्लो वर्षभन्दा उच्च छ । लक्ष्यअनुसार राजस्व वृद्धि हुने महानगरको अपेक्षा रहेको छ ।

 

बालेनले मध्यराति लेखेर मेटेको ‘अश्लील’ स्टाटसको स्क्रिनसट ‘भाइरल’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिजो (शनिबार) मध्यराति लेखेर केहिछिनमा मेटेको एक स्टाटसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ ।

अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेको भनी चर्काे आलोचना भइरहेको छ । शनिबार राति ११ः५६ बजे लेखेको त्यो स्टाटस उनले केहीबेरपछि नै हटाएका थिए । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट राखेर व्यापक टिप्पणी र आलोचना गरिरहेका छन् ।

उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका छन् । उनले ‘सबै मिले पनि केही गर्न सक्दैनन्’ भनेका छन् ।

राम मन्दिर परिसरका अवैध संरचनामा काठमाडौं महानगरको डोजर (तस्वीरहरु)

काठमाडौं । महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरका अवैध संरचनामा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दियो ।

त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको मन्दिर छेउछाउमा जस्ताका टहरा बनाइएका थिए। महानगरपालिकाले शुक्रबार त्यसलाई हटाएको हो । यो मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९३०/०३१ सालमा निर्माण गराएको बताइन्छ ।

वि.सं. १९९० सालको भुइँचालोमा क्षति पुगेको मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए । मन्दिरमा मुख्य देवता भूदेवी र श्रीदेवीसहित चतुर्भुज नारायण छन् । यस मन्दिर क्षेत्रमा चार प्रकारका लक्ष्मणसहित सीता र रामका मूर्तिहरू छन् भने शिवलिंग, पादुका, हनुमानको मन्दिर लगायत पनि छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

काठमाडौंका अतिक्रमित जग्गा खाली गर्न सात दिने ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन सात दिने समय सीमा –अल्टिमेटम’ तोकिएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो ।

गत असोज २ गतेको संयुक्त बैठकले मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि महानगरले आज अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

हेर्नुस् सूचना

सर्वोच्चमा ललितपुरको भन्दा पहिले हाम्रो दमकल पुगेको हो : नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको आज बसेको ४३ औं नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा वडाध्यक्षहरुले प्रश्न उठाएका छन् । महानगरको विपद व्यवस्थापन समितिले भने त्यसको प्रतिवाद गरेको छ ।

बैठकमा २३ र २४ गतेको घटनाबारे छलफल गर्ने कुनै एजेण्डा थिएन । यसलाई लिएर केही वडाध्यक्षले आपत्ति जनाएका छन् । वडा नम्बर ७ का वडाध्यक्ष बिमलकुमार होडाले भने, ‘मलाई दुःख लागेको छ । देशमा यत्रो घटना भयो, तर बैठकमा कुनै पनि एजेण्डा छैन । न मृतकलाई श्रद्धाञ्जली भनियो, न विध्वंको भत्र्सना गरियो । यत्रो सम्पदा ध्वस्त गरिएकोप्रति हामीले आपत्ति जनाउनु पर्छ कि पर्दैन ।’

वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले पनि होडालाई साथ दिँदै भदौ २३ र २४ को घटनाबारे समीक्षा हुनुपर्ने बताएका छन् । उनले भने, ‘म यसमा खेद प्रस्ताव पेश गर्न चाहन्छु । देशेभरि क्षति भए पनि काठमाडौंमा प्रभाव बढी रह्यो । धेरै सम्पदा जलेर खरानी हुँदा हामीले टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेनौं । हामी पनि सुरक्षित थिएनौं । डराएको जस्तो अवस्था थियो । यो हत्या, हिंसा र लुटपाट, आगजनीप्रति हामीले खेद व्यक्त गर्नुपर्छ ।’ श्रेष्ठले नेपालको ऐतिहासिक सम्पदा सिंहदरबार जलेर खरानी हुँदा रुन मन लागेको बताए । अब सिंहदरबारको पुननिर्माण गर्ने जिम्मा महानगरपालिकाले लिने प्रस्ताव समेत उनले गरे ।

श्रेष्ठले सबैतिर आगजनी हुँदा महानगरको दमकले समयमा परिचालन नभएको गुनासो गरे । उनले भने, ‘रेकर्ड हेर्दा टाइममै निस्केको देखिन्छ । तर ठूलो क्षति भइसकेपछि मात्रै पुगेको छ । छिमेकी महानगपालिकाबाट दमकल आएर आगो निभाइएको न्यूज पढ्दा हामीलाई दुःख लाग्छ ।’ अन्य वडाध्यक्षहरुले पनि दमकल परिचालनमा भएको कमजोरीबारे प्रश्न उठाएपछि महानगर प्रहरीका एसपी तथा विपद व्यवस्थापन समितिका संयोजक बिष्णुप्रसाद जोशीले जवाफ दिएका थिए । उनले दमकल परिचालनमा अथक प्रयास गरिएको तर अवरोधका कारण सम्भव नभएको बताएका छन् ।

 

 

‘यमबुद्ध स्केटबोर्ड पार्क’ को सपना चाँडै पूरा हुँदैछ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको भन्दै खुशी प्रकट गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी गराएका छन् । ६ करोड ७० लाखको लागतमा निर्माण हुने पार्कका केही तस्वीर पनि उनले सार्वजनिक गरेका छन् । आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन् ।

‘सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो । काठमाडौँ महानगरपालिका–१६ मा बन्ने कुरा लगभग तय भइसकेको थियो। तर तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौं । त्यसपछि २ नम्बर वडामा कोशिस गर्‍यौं । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन ।’

अहिले काठमाडौँ–५ का वडाध्यक्ष बीरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण भएको र सोही जग्गामा पार्क निर्माणको काम अघि बढेको मेयर बालेनको भनाई छ ।

अहिले यो पार्कको निर्माण कार्य करिब आधा सकिएको भन्दै उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएको बताएका छन् । ‘यो पार्क युवाहरूले संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा रहने छ,’ उनले भनेका छन् ।

कामपाले तीन वर्षदेखि रोकिएको ‘उज्यालो महानगर योजना’ फेरि अघि बढायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षदेखि रोकिएको ‘उज्यालो महानगर योजना’ फेरि अगाडि बढाएको छ । काठमाडौंका मेयर बालेन शाहले विगत तीन वर्षदेखि विधिध कारणले रोकिएको योजना फेरि अगाढि बढाइएको जानकारी गराएका ह्न । मेयर शाहले करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् । उनले जसअन्तर्गत हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेको जनाएका छन् ।

दशैं भन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताइएको छ । अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी ‘सोलार स्ट्रिट लाइट’ (सडक बत्ति) लाई इलेक्ट्रिकलमा बिस्थापित गरी हाल बलिरहेका छन् । साथै करिब ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको छ, जसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको जनाइएको छ ।

 

काठमाडौ महानगरका विद्यालय आजदेखि खुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज (आइतबार) देखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापन पक्षलाई आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो ।

विद्यालयमा कुनै क्षति भए नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न, अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न पनि महानगरले सूचनामार्फत आग्रह गरेको छ ।

महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, यही भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति यकिन गर्न भनेको हो ।

महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्यदृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

हेर्नुस् सूचना

जेन–जेडको योगदान र बलिदानले देशले परिवर्तन पाएको छ : बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले मुलुकमा अन्तरिम सरकार गठन र संसद् विघटन भएपछि आन्दोलनकारी जेन–जीप्रति सम्मान प्रकट गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । शपथ लगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी छन् ।

यसप्रति खुशी प्रकट गर्दै मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेन–जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईंहरूप्रति असिम सम्मान।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जीका युवाले भदौ २३ गते काठमाडौँको बानेश्वरलगायत देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना मारिए भने सयौँ घाइते भए । यसको आक्रोशमा भोलिपल्ट उनीहरूले आन्दोलन थप चर्काउँदा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार तथा सर्वोच्च अदालतसमेत जलाए ।

त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । आन्दोलनमा मारिनेको संख्या अहिलेसम्म ५१ पुगेको छ । अझै कैयौँ घाइते अस्पतालमा छन् ।