राम मन्दिर परिसरका अवैध संरचनामा काठमाडौं महानगरको डोजर (तस्वीरहरु)
काठमाडौं । महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरका अवैध संरचनामा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दियो ।
त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको मन्दिर छेउछाउमा जस्ताका टहरा बनाइएका थिए। महानगरपालिकाले शुक्रबार त्यसलाई हटाएको हो । यो मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९३०/०३१ सालमा निर्माण गराएको बताइन्छ ।
वि.सं. १९९० सालको भुइँचालोमा क्षति पुगेको मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए । मन्दिरमा मुख्य देवता भूदेवी र श्रीदेवीसहित चतुर्भुज नारायण छन् । यस मन्दिर क्षेत्रमा चार प्रकारका लक्ष्मणसहित सीता र रामका मूर्तिहरू छन् भने शिवलिंग, पादुका, हनुमानको मन्दिर लगायत पनि छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

