गृहमन्त्रीलाई सुधनको चेतावनी : मौनतालाई कमजोरी नठान्नू, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ
काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा युवा अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा असन्तोष व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन् । मध्यरातमा सामाजिक सञ्जालमार्फत ‘द काउन्सिल अफ जेन–जी’ को ब्यानरमा सार्वजनिक अभिव्यक्तिमा गुरुङले सिमरामा घटेको ताजा घटनालाई गृहमन्त्रीको कमजोर नेतृत्वको परिणाम भएको दाबी गरेका छन् ।
गुरुङका अनुसार जेन–जीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा एमाले निकट समूहका व्यक्तिहरू प्रवेश गरी दुव्र्यवहार र कुटपिट गरेका थिए । घटनापछि गृहमन्त्री मौन बसेको आरोप गर्दै उनले सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गरेका छन् । गुरुङले गृहमन्त्री अर्याल ‘आन्दोलनको म्यान्डेट’ र ‘बलिदानी इतिहास’ बिर्सिएको टिप्पणी गर्दै, यदि उनले राजीनामा नदिए भ्रष्टाचार र हिंसामा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गर्न असफल भएको ठहरिने बताए । उनले आफूमाथि र आफ्नो समूहमाथि हुने दमनलाई विरोध गर्न ‘मलाई पनि पक्राउ गर’ नामक राष्ट्रिय अभियान सुरू गर्ने चेतावनी पनि दिए ।
उनले लेखेका छन्, ‘हत्याराहरू खुला रूपमा चुनौती दिइरहँदा सरकारले प्रतिक्रिया नदिनु अत्यन्त खतरनाक संकेत हो । आज देखिएको जनप्रतिक्रिया त केवल आगामी ज्वालामुखीको अघिल्लो झल्को मात्र हो ।’ उनले जनआन्दोलन जस्ता शक्तिशाली प्रतिवादहरू उठ्न सक्ने संकेत गर्दै आफ्ना समर्थकहरूलाई नआतिन आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा विभिन्न घटनालाई लिएर गृहमन्त्री अर्यालविरुद्ध सामाजिक सञ्जालमा आवाज बढ्दो छ र गुरुङको चेतावनीले राजनीतिक चर्चा थप तातिएको देखिन्छ ।
