`

सिमरा आज पनि ‘अशान्त’ : जेनजी युवाको विरोध, एमालेका दुई वडाध्यक्ष पक्राउ

Nepal One HD ४ मंसिर २०८२ १३:०१
प्रमुख खबर

बारा । बाराको सिमरा क्षेत्रमा नेकपा एमाले र जेनजी युवाबीच उत्पन्न विवाद निरन्तर चर्किदै गएको छ । बुधबार दिनभर तनावग्रस्त सिमरा बिहीबार पनि अशान्त बनेको छ । घटनाक्रमले जिल्ला प्रशासन कार्यालय बारालाई बुधबारै कफ्र्यू आदेश जारी गर्न बाध्य बनाएको थियो, तर राततिर स्थिति केही शान्त बनेपछि बिहीबार विहान फेरि आन्दोलन सुरु भएको हो ।

बिहीबार बिहान १० बजेदेखि जेनजी युवाहरूले सिमरा चोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ताहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात आवागमन ठप्प परेको छ ।
जेनजी युवामाथि कुटपिट भएको आरोपमा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारीलाई पक्राउ गरेको छ । दुबै जना एमालेबाट निर्वाचित प्रतिनिधि हुन् । जेनजीका अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर बाँकी चार जना पक्राउ नपरेको गुनासो गर्दै युवाहरूले पुनः प्रदर्शन गरेका हुन् ।

एमालेले बुधबार बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गर्दैं थियो । त्यसको पूर्वसन्ध्यामा जेनजी अगुवा उपाध्यायले सामाजिक सञ्जालमार्फत् ‘एमालेको कार्यक्रम असफल पार्नेगरी शान्तिपूर्ण विरोध’ को घोषणा गरेका थिए । यही घोषणालाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेपछि अवस्था एकाएक तनावपूर्ण बनेको थियो । उपाध्यायमाथि भएको हातपातपछि आक्रोशित जेनजी युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थलसम्म पुगे ।

भीडले विमानस्थलको मुख्य गेट ढालिदियो र भित्र प्रवेश गरी ढुंगामुडा तथा सिसाका बोतल प्रहार गर्दै नाराबाजी गरे । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्दै भीड तितर–बितर पारेको थियो । दोस्रो दिन पनि प्रदर्शन जारी रहेकाले सिमरा क्षेत्र संवेदनशील बनेको छ । प्रहरीको बाक्लो उपस्थिति रहे पनि जेनजी युवकहरू आक्रमणकारीहरूको पूर्ण गिरफ्तारी नहुँदासम्म आन्दोलन जारी रहने बताइरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *