सिमरा घटनाबारे प्रचण्ड : हिंसा होइन, संयम आवश्यक
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको सिमरा क्षेत्रमा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेका छन् । उनले बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेका छन् ।
प्रचण्डले लोकतन्त्रमा राजनीतिक र वैचारिक मतभिन्नता स्वाभाविक भएको भए पनि, त्यसलाई हिंसा र उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति विपरीत भएको बताएका छन् । ‘सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले लेखेका छन्, ‘स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’
उनका अनुसार लोकतन्त्रमा मतभिन्नता प्राकृतिक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कदम हो । ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन् ।
उनले सबै दल र नेताहरूलाई राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै निर्वाधरूपमा हिँडडुल र सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यसैगरी प्रचण्डले आगामी निर्वाचनको शान्तिपूर्ण र निष्पक्षतामा कुनै पनि नकारात्मक प्रभाव नपार्नका लागि सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । ‘घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ प्रचण्डले भने । अध्यक्ष प्रचण्डले स्थानीय पार्टी समितिहरूलाई घटनास्थलमा सहयोग र सहजीकरण गर्न निर्देशन दिएका छन् ।
