`

जेनजीलाई प्रचण्डले भने–अब तपाईहरुकाे हातमा जिम्मेवारी सुम्पिन्छु

Nepal One HD ६ मंसिर २०८२ १६:१६
प्रमुख खबर

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी राजनीतिक नेतृत्व र राष्ट्र निर्माणको जिम्मेवारी अब युवापुस्तालाई सुम्पिने बताएका छन् । वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मात्रै होइन, देशको समग्र परिवर्तनको यात्रालाई नयाँ पुस्ताको हातमा उभार्ने समय आएको बताए ।

प्रचण्डले पार्टीका समितीसम्म युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको जानकारी दिए । पार्टीभित्र आगामी निर्वाचनमा ‘सबैभन्दा धेरै अवसर युवालाई’ दिने विषयमा गम्भीर छलफल भईरहेको उल्लेख गर्दै उनले पुराना पुस्ताले अब उत्तराधिकारी निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘हामीले अर्को नयाँ सपना देख्नु पर्छ । अब जिम्मेवारी युवा पुस्तालाई सुम्पने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

युवापुस्तामा बढ्दो असन्तोष र परिवर्तनकारी भावनालाई स्वीकार गर्दै प्रचण्डले हालै भदौ २३–२४ मा उठेको ‘जेन–जी आन्दोलन’ले भ्रष्टाचारविरुद्धको अभियानलाई ठूलो ऊर्जा दिएको बताए । उनका अनुसार, भ्रष्टाचार अहिले राष्ट्रका लागि ‘विकाराल र दुर्भाग्यपूर्ण चुनौती’ का रूपमा उभिएको छ । सरकारमा हुँदा र सडकमा हुँदा दुवै अवस्थामा आफूहरूले आवाज उठाइरहे पनि अपेक्षित सुनुवाइ नभएको स्वीकार गर्दै उनले नयाँ पुस्ताले उठाएको आवाजले आफूहरूलाई पनि पुनः जागृत बनाएको बताए ।

प्रचण्डले आन्दोलनकारी युवाप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईंहरूले भ्रष्टाचारविरुद्ध, सुशासन र स्वतन्त्रताको पक्षमा जसरी आवाज उठाउनु भयो, त्यो आवाजले हाम्रो अभियानलाई नयाँ ऊर्जा दियो ।’ देशको वर्तमान चुनौती समाधान गर्न पुराना र नयाँ पुस्ता सबै मिलेर ‘राष्ट्र पहिलो’ भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको प्रचण्डको भनाइ थियो । उनले विगतका कमजोरी स्वीकार गर्दै आत्मसमीक्षा गर्दै युवापक्षीय परिवर्तनलाई आत्मसात् गर्न तयार भएको सन्देश पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *