`

सूर्यविनायक–धुलिखेल सडक निर्माणलाई तीब्रता दिन मन्त्री घिसिङको निर्देशन

Nepal One HD ७ मंसिर २०८२ १०:५०
प्रमुख खबर

काठमाडौं । अरनिको राजमार्गको महत्वपूर्ण खण्ड मानिने सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनाले ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । सडक सीमा विवाद र बजेट अभावका बीच सुस्त बनेको आयोजनाले पछिल्लो समय गति लिएको हो ।

शनिबार आयोजनाको स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्न कडा निर्देशन दिएका छन् । कुल १५.८ किलोमिटर लामो यो सडकलाई ६ लेनमा विस्तार गर्न दुईवटा प्याकेज बनाएर काम भइरहेको छ । आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ४५ प्रतिशत काम सकिएको छ । यस्तै, साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा भने ५५ प्रतिशत प्रगति हासिल भएको छ ।
सडक विस्तारको मुख्य चुनौती मानिने टेवा पर्खाल र नाली निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे समेत भइसकेको छ । अनुगमनका क्रममा मन्त्री घिसिङले सडक विभागका महानिर्देशक,

आयोजना प्रमुख र निर्माण व्यवसायीहरूसँग छलफल गर्दै अहिले काम गर्नका लागि मौसम सबैभन्दा उपयुक्त रहेकाले कुनै बहाना नबनाउन आग्रह गरे । ‘काम गर्ने सिजन यही हो, जनशक्ति र उपकरण थपेर निर्माणलाई युद्धस्तरमा अघि बढाउनुहोस्,’ मन्त्री घिसिङले भने, ‘निर्णय गर्नुपर्ने कुनै विषय बाँकी भए तत्काल टुंग्याऔं, तर आगामी असारभित्र सडक विस्तार सकिनुपर्छ ।’

उनले अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता भइसकेकाले अब आर्थिक अभावका कारण काम नरोकिने स्पष्ट पारे । चालु आर्थिक वर्षका लागि आयोजनामा ७० करोड रुपैयाँ मात्र विनियोजन भए पनि आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । विगतमा सडक सीमा विवाद र घरटहरा हटाउने समस्याले आयोजना प्रभावित भएको थियो । विशेष गरी बनेपा बजार क्षेत्रमा देखिएको सडक विस्तारको जटिलता फुकाउन मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरेका छन् । उनले स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गरिदिन नगर प्रमुखलाई आग्रह समेत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *