प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गरियोस् : रक्षा बम
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातावाद र कृपावाद बढेको दाबी गर्दै जेनजी आन्दोलनकी युवा नेता रक्षा बमले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तुरुन्तै पदमुक्त गर्न माग गरेकी छन् । सचिवालयभित्रका केही नियुक्तिहरू श्रेष्ठका परिवारजन र नातेदार रहेको समाचार सार्वजनिक भएपछि बमले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएकी हुन् ।
बमका अनुसार महत्वपूर्ण संवैधानिक संक्रमणकालीन चरणमा रहेको नागरिक सरकारलाई दुरुपयोग गर्दै स्वकीय सचिव स्तरका व्यक्तिहरूले पदको प्रभाव प्रयोग गरेर आफ्नै परिवारी जनालाई जागिर दिलाउनु नातावाद र नैतिक पतनको ज्वलन्त उदाहरण हो । उनले लेखेकी छन्, ‘जेनजी विद्रोह केवल रकमको भ्रष्ट्राचारविरुद्ध मात्र होइन, नैतिक विचलन, नातावाद र कृपावादविरुद्धको आन्दोलन पनि थियो । यस्तो बेलामा अधिकारीहरूले स्वार्थी व्यवहार देखाउनु परिवर्तनका लागि बगेको रगतप्रति अपमान हो ।’
तीन महिनाअघि भएको जेनजी विद्रोहले सुशासन, पारदर्शिता र जवाफदेहिताको माग उठाएको स्मरण गराउँदै बमले सरकारको मूलभूत मूल्यप्रति आफ्नो बफादारी देखाउन सबै पदाधिकारी सचेत हुनु आवश्यक रहेको बताएकी छन् । उनका अनुसार साधारण नागरिकको विश्वासमा बनेको सरकार सीमित व्यक्तिको प्रभावमा चल्न थाले लोकतान्त्रिक उपलब्धि खतरामा पर्न सक्छ ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नै पत्नी र अन्य नातेदारलाई नियुक्ति दिलाउनु नैतिक भ्रष्टाचारको चरम रूप हो । यस्तो प्रवृत्तिलाई तत्काल रोकिनु पर्छ ।’ बमले सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दै श्रेष्ठलाई पदमुक्त गर्न तथा समीकरण मिलाइ नियुक्त गरिएका नातेदारहरूको जागिर रद्द गर्न चुनौतीपूर्ण व्यापक छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
