विराटनगर ‘मेनरोड’ को उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी
विराटनगर । विराटनगर महानगरपालिका मेनरोड नजिक रहेको एक प्लाष्टिक उद्योगको गोदाममा आगलागी भएको छ । आज विहानबाट सुरु भएको भिषण आगलागी केहीबेर अघि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरिक्षक अनमोल खड्काका अनुसार वडा नियन्त्रण बाहिर गएको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाबाट दुई वटा र सुनसरीको दुहबीबाट एउटा वारुणयन्त्र, स्थानीय र सुरक्षा निकायले सहजीकरण गरेका थिए ।
प्रहरीका अनुसार सरस्वती प्लाष्टिक उद्योगको गोदाममा विहान एकाएक आगलागी भएपछि स्थानीयमा केही समय त्रास फैलिएको थियो । उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लास्टिक फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।
